आँधीबेहरीमा परेर अमेरिकामा २७ जनाको मृत्यु
.2025-03-16-04-17-10.jpeg)
काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्य भागमा शनिबार आएको आँधीबेहरी र हावाहुरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमले घरका छाना भत्केका र ठूला ट्रक पल्टिएको देखाएका छन् र पूर्वानुमानकर्ताहरूले यस सप्ताहन्तमा अझ धेरै आँधी आउन सक्ने चेतावनी दिएका छन् ।
कन्सास राज्यमा ‘व्यापक धुलासहितको आँधी’का कारण भिजिबिलिटी कम भएका कारण ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
मिसौरी राज्यको राजमार्ग अनुगमन बलले आँधीका कारण १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मौसमका कारण ध्वस्त भएको मरीना क्षेत्रमा डुङ्गाहरू एकअर्कामाथि थुप्रिएका तस्बिर सार्वजनिक गरिएको छ ।
राज्य प्रहरीले रुख र बिजुलीका तारहरू ढलेको र भवनहरूमा क्षति पुगेको र केही क्षेत्रहरू चक्रवात, आँधीबेहरी र ठूला–ठूला असिनाको बर्षा’ बाट नराम्ररी प्रभावित भएको जनाएको छ ।
मिसौरीस्थित एक घरको भग्नावशेषबाट निकालिएकी एलिसिया विल्सनले टिभी स्टेशन केएसडीकेसँग भने, ‘यो मैले अहिलेसम्म भोगेको सबैभन्दा डरलाग्दो कुरा थियो, यो यति तीव्र र कडा थियो कि यसको अनुमानसम्म गर्न सकिएन । एक्कासि ‘कान फुट्ने’ आँधीले घरहरूका छाना उडाएको र रुखहरू ढलेको आवाज सुनिएको थियो ।’
प्रहरीका अनुसार आँधीका कारण मिसौरीको वेन काउन्टीमा ६ जना, ओजार्क काउन्टीमा तीन जना र बटलर, जेफरसन र सेन्ट लुइस काउन्टीमा एक–एक जनाको मृत्यु भएको छ ।
टेक्सासको दक्षिणमा स्थानीय अधिकारीहरूले एएफपीलाई बताएअनुसार धुलो आँधी र डढेलोका कारण भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ जसले गर्दा सडकमा भिजिबिलिटी कम भएको छ ।
छिमेकी राज्य अर्कान्सासमा आँधीका कारण तीन जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया