महायज्ञको नाममा दलितको घरमा डोजर लगाउने तीन जनाविरुद्ध जाहेरी

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाम डोम परिवारलाई उठीबास लगाएको घटनामा गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछुतमा जाहेरी परेको छ ।
पीडित परिवारले आज (शनिबार) दलित अगुवासहित पुगेर जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका हु । पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ ।
गाउँपालिका अध्यक्ष र पूर्व वडा अध्यक्षलाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिइसकेका छन् । अर्को आरोपित बजरंगी बाबा भने फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानुनी कारबाही प्रक्रिया अघि बढेको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए ।
जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ। चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
तपाईको प्रतिक्रिया