नयाँ वर्षका लागि पात टिप्न जङ्गलमा

कञ्चनपुर, चैत २२ गते । कञ्चनपुरको बेलौरी नगरपालिका–१० का सरिता चौधरी शुक्रबार बिहानै ७ बजे जङ्गलमा भेटिइन् । करिब तीन किलोमिटर यात्रा गरेर उनि बेलौरी नगरपालिका–९ स्थित वैजनाथ मध्यवर्ती सामुदायिक वन कुण्डमा सालको सुकेका पात टिप्न जङ्गल गएकी हुन ।
आउँदै गरेको नयाँ वर्षमा सालका पातको प्रयोग अत्यधिक हुने गरेकाले वनमा झरेका पात टिप्न थालेको उनले बताए । चाडपर्वमा बढी जसो दुनाटपरीको प्रयोग हुने भएकाले आवश्यक पात सङ्कलन गर्न छिमेकीसँगै आफू पनि जङ्गल आएको उनि बताउटन् । उनले एक बोरामा भरेर सालका पात सङ्कलन गरेको बताए । ती सुकेका पातलाई केही समय पानीमा भिजाउने र नरम भएपछि दुनाटपरी बनाइने गरेको उनि बताउछिन् । वसन्त ऋतुसँगै वनमा पात झर्ने क्रम सुरु भएकाले ती झरेका पातबाट चौधरी समुदायले दुनाटपरी, थाल बनाउने गरेका छन् ।
“अचेल रुखबाट पात खस्ने गरेकाले पनि ती सुकेका पात टिप्न जङ्गल आएका छौँ,” सरिताले भने, “घरमा बाजेबजैले दुनाटपरी बनाउनुहुन्छ ।” घरमा बुढा बाजेबजैले खाली बसेको समयमा दुनाटपरी बनाउने गरेको उनले बताइन । यस्तै कैलालीको अत्तरियाकी रोमी चौधरी पनि वन क्षेत्रमा बिहानै भेटिइन । सालको सुकेका पात सङ्कलन गर्दै उनले भने, “सालको पातबाट बनेका दुनाटपरी वर्ष दिनसम्म काम लाग्छ । अहिले सिजन भएकाले पनि पात सङ्कलन गर्न जङ्गल आएका हौँ ।” आफन्तको घरमा आएकी उहाँले आवश्यक पर्ने पात सङ्कलन गरेर दुनाटपरी बनाइने बताए ।
यस्तै बेलौरीका स्थानीय जनकलाल चौधरी पनि करिब दुई किलोमिटर यात्रा गरेर परिवारका सदस्यसँग जङ्गलमा सुकेका, झरेका सालको पात सङ्कलन गर्न गएको बताउछन् । तरकारी राख्न आवश्यक पर्ने भएकाले सालको पात टिप्न सुरु गरिएको उनले बताए । नयाँ वर्षमा भेटघाटका लागि ७०र८० जनाभन्दा बढी पाहुना आउने, खानपिन गर्ने भएकाले पनि पुरानो परम्परा अनुरूप पातमा खानेकुरा राखेर पाहुनालाई खुवाउने गरेको उनले बताए ।
थारू समुदायले परम्परागत रूपमा नयाँ वर्ष र चाडबाड मनाउँदै आएका छन् । चौधरी समुदायले छुट्टै तरिकाले पाहुनाको स्वागत सत्कार गर्ने गरेको थारू समुदायका अगुवा लोगे चौधरी बताउछन् । विगतदेखिकै परम्परा भएकाले थारू समुदायले आफ्नो संस्कृतिको जगेर्ना गर्दै आएको उनले बताए ।
सङ्कलन गरेका पातको दुनाटपरी बनाउने उनीहरूले बताएका छन् । चौधरी समुदायले पाहुनाको स्वागत गर्न र पहिलेदेखि नै चलिआएको परम्परा अनुरूप दुनाटपरीमा खाना पस्किने गरेका छन् । प्लेटको सट्टा पातको प्रयोग गर्ने गरेको उनीहरू बताउँछन् । वैजनाथ मध्यवर्ती सामुदायिक वनमा अहिले दैनिक दुई सयभन्दा बढीको सङ्ख्यामा टाढा टाढाबाट चौधरी समुदायका महिला, पुरुष पात टिप्न आउने गरेका सो सामुदायिक वनका हेरालु दिलबहादुर महराले बताए ।
तपाईको प्रतिक्रिया