अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार गायब

काठमाडौं । अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार हराएका छन् ।
बीबीसीकाअनुसार ती हतियार बेचिएको वा तस्करी गरिएको हुनसक्ने आशङ्का गरिएको छ । केही हतियार अलकायदासँग जोडिएका चरमपन्थी सङ्गठनहरूको हातमा पनि परेको संयुक्त राष्ट्रसङ्घको अनुमान छ ।
एक पूर्वअफगान अधिकारीका अनुसार तालिबानले सन् २०२१ मा अफगानिस्तानलाई फेरि नियन्त्रणमा लिँदा उनीहरूले करिब १० लाख सैन्य हतियार र उपकरणको भण्डार फेला पारेका थिए ।
तीमध्ये अधिकांश अमेरिकाको आर्थिक सहयोगमा खरिद गरिएका थिए । यसमा अमेरिकी निर्मित एम ४ र एम १६ राइफलहरूसहित अफगानिस्तानका पुराना हतियारहरू पनि समावेश थिए ।
सन् २०२१ मा तालिबान अगाडि बढेपछि अफगान सैनिकहरूले या त आत्मसमर्पण गरेका थिए वा आफ्ना हतियार र सवारी साधनसहित भागेका थिए । त्यसैगरी अमेरिकी सेनाले पनि आफ्ना केही सैन्य उपकरण त्यहाँ छोडेको थियो ।
गत वर्ष दोहामा भएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिबन्ध समितिको बैठकमा तालिवानले आधा सैन्य उपकरण र हतियार हराएको स्वीकार गरेको बीबीसीलाई बताएको छ । समितिका एक व्यक्तिले धेरै स्रोतबाट पुष्टि गरिसकेको तर करिब पाँच लाख हतियार पत्ता नलागेको बताए ।
राष्ट्रसङ्घले फेब्रुअरीमा जारी गरेको एक प्रतिवेदनमा अल कायदासँग सम्बद्ध सङ्गठनहरूले कालो बजारबाट यी हतियार खरिद गरिरहेको बताएको थियो ।
जसमा तेहरिक-ए-तालिबान पाकिस्तान, इस्लामिक मुभमेन्ट अफ उज्वेकिस्तान, पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन र यमनको अन्सारुल्लाह आन्दोलन तालिबान समावेश छन् ।
तालिबान सरकारका उपप्रवक्ता हमिदुल्लाह फितरातले भने आफूहरूले हतियारहरू अत्यन्त सावधानीपूर्वक भण्डारण र सुरक्षा गरेको दाबी गरेका छन् । “हतियार तस्करी वा बेपत्ता हुने कुरा गलत हो, सबै हलुका र भारी हतियार पूर्णरूपमा सुरक्षित राखिएको छ,” उनले भने ।
सन् २०२३ मा राष्ट्रसङ्घको प्रतिवेदनमा तालिवानले जफत गरिएका अमेरिकी हतियारको २० प्रतिशत स्थानीय कमाण्डरहरूलाई दिएको बताएको थियो । यी कमाण्डरहरू आफ्नै क्षेत्रमा स्वतन्त्र छन् । यही कारणले हतियारको कालोबजारी भइरहेको छ । “स्थानीय कमाण्डर र लडाकुहरू बीचको शक्ति सुदृढ गर्न ठूलो मात्रामा हतियार उपहार दिइन्छ । यो यी हतियारहरूको प्रमुख स्रोत हो,” राष्ट्रसङ्घले भन्यो ।
स्थानीय कमाण्डरहरू र धनी मानिसहरू नयाँ र पुराना अमेरिकी हतियार र सैन्य उपकरणहरू व्यापार गर्न सँगै काम गरिरहेका छन् । यीमध्ये अधिकांश हतियार अफगान सेनाले छोडेको छ ।
राष्ट्रसङ्घले आफ्नो प्रतिवेदनमा अमेरिकी विशेष महानिरीक्षक अफ अफगानिस्तान रिकन्स्ट्रक्सन (सिगार)मा दर्ता भएका हतियारको सङ्ख्या सबै स्रोतबाट प्राप्त जानकारीभन्दा कम रहेको बताएको छ ।
राष्ट्रसङ्घले पनि सन् २०२२ को प्रतिवेदनमा सही तथ्याङ्क सङ्कलन गर्न नसकिएको स्वीकार गरेको छ । पछिल्ला केही वर्षदेखि अमेरिकाका विभिन्न विभाग र सङ्गठनहरूले अफगानिस्तानलाई सैन्य उपकरण आपूर्ति गर्दै आएका छन् ।
तर, अमेरिकी विदेश मन्त्रालयले यसलाई अस्वीकार गरेको छ । यो अमेरिकामा ठूलो राजनीतिक मुद्दा बनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार अफगानिस्तानबाट हतियार फिर्ता गर्ने बताएका छन् । उनले ८५ अर्ब डलरको अत्याधुनिक हतियार त्यहाँ बाँकी रहेको बताए ।
तालिबानले बारम्बार अमेरिकी हतियार प्रदर्शन गर्ने गरेको छ । यसमा बगराम एअरफिल्ड पनि समावेश छ, जुन मुख्य अमेरिकी-नाटो बेस थियो । उनले यसलाई आफ्नो विजयको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् ।
सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी फिर्ता भएपछि पेन्टागनले पछाडि छोडिएका सैन्य उपकरणहरू निष्क्रिय पारिएको दाबी गरेको थियो ।
अमेरिकी हतियारको सहयोगमा तालिबानले नेशनल रेजिस्टेन्स फ्रन्ट र इस्लामिक स्टेट समूहको क्षेत्रीय सहयोगी इस्लामिक स्टेट खोरासान प्रान्तजस्ता शत्रु समूहमाथि प्रभुत्व स्थापित गरेको छ ।
अफगान सरकारका एक पूर्व स्रोतले बताएअनुसार “सयौं” हाई मोबिलिटी मल्टिपर्पज ह्वील्ड भेहिकल (HMMWVs), माइन-प्रोटेक्टेड भेहिकल (MRAPs) र ब्ल्याक हक हेलिकप्टरहरू अझै पनि कान्दाहारका गोदामहरूमा भण्डारण गरिएका छन् ।
तालिबानले प्रचार भिडिओहरूमा आफूले कैद गरेका केही सैन्य उपकरणहरू देखाएको छ, तर ब्ल्याक हक हेलिकप्टरहरू प्रयोग गर्न उनीहरूसँग तालिम र प्राविधिक विशेषज्ञताको अभाव छ ।
यसबाहेक अमेरिकाका धेरै उत्कृष्ट सैन्य उपकरणहरू अझै पनि प्रयोगमा छैनन् । यद्यपि, तालिबानले आफ्नो कारबाहीमा हम्भी र साना हतियार जस्ता सजिलै चलाउन सकिने उपकरणहरूको प्रयोग बढ्दो रूपमा गरिरहेको छ ।
–बीबीसीबाट
तपाईको प्रतिक्रिया