गर्भनरको दौडमा स्वार्थ समूहले नबोकेका अर्थतन्त्रका ज्ञाता भट्ट

सोमबार चैत २४, २०८१/ Monday 04-07-25
Paschim Today

काठमाण्डौं, २५ चैत्र ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको टुंगो लाग्ने समय नजिकिदै गर्दा डा. गुणाकर भट्ट सबै प्रतिस्पर्धीहरु मध्ये निर्विवाद देखिएका छन् । अन्य प्रतिस्पर्धीहरु कुनै न कुनै विवाद र मुद्दामा मुछिएका छन् । त्यसमाथि अन्य प्रतिस्पर्धीहरुलाई कुनै स्वार्थ समूह र बिचौलिया समूहले बोकेको पाईएको छ । कुनै स्वार्थ समूह र बिचौलियाले नबोकेका भट्ट एक मात्र व्यक्ति हुन् ।

सुदूरपश्चिम डोटीको कफल्लेकीमा जन्मिएका भट्टले आफ्नै बलबुता र अध्ययनले यो मुकाम हासिल गरेका हुन् । कठिन संघर्ष र मिहिनेतले खारिएका भट्ट पढाईसंगै आफ्नो कार्यक्षेत्रमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी सुदूर पश्चिमका त्रिभुवन विश्वविद्यालयका एमबिएका गोल्ड मेडलिस्ट हुन् । उनले अमेरिकाको वेन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् ।

नेपाल राष्ट्र बैंकमा २० वर्षदेखि कार्यरत भट्टले थुप्रै महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । राष्ट्र बैंकको प्रवक्ता, नियमन बिभाग र आर्थिक अनुसन्धान विभागको प्रमुख रहेका भट्टले नेपालका तर्फबाट थुप्रै अन्तर्राष्ट्रिय सम्मेलनमा समेत कार्यपत्र प्रस्तुत गरेका छन् । उनी अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त अर्थशास्त्री हुन् ।

नेपालको मौद्रिक नीति, वित्तीय नियमन, र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका उनी अहिलेसम्म कुनै विवादमा परेका छैनन् ।

राष्ट्र बैंकको गभर्नरको प्रतिस्पर्धामा रहेकाहरु मध्ये अधिकांशलाई विभिन्न स्वार्थ समूह र बिचौलियाको साथ समर्थन भएपनि उनलाई भने ती कुनै समूहको समर्थन छैन् ।

उनी जटिल आर्थिक विषयहरू सरल भाषामा जनतासम्म पुर्याउने क्षमता राख्छन् । मुलुकको अर्थतन्त्र बुझेका भट्ट डिजिटल अर्थतन्त्र, मुद्रास्फीति नियन्त्रण, र बैंकिङ्ग सुधार जस्ता विषयका बीज्ञ मानिन्छन् ।

कुनै एउटा दलप्रति विशेष लगाव र झुकाव नभएका भट्ट सबै दलले रुचाएका गभर्नरका एक्ला प्रतिस्पर्धी हुन् । सुदूरपश्चिमका सबै दलका नेताहरुले साझा रुपमा समर्थन गरेका भट्टलाई सुदूरपश्चिमबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने नेताहरुले आआफ्ना शीर्ष नेताहरुलाई भट्टलाई गभर्नर बनाउन दवाव दिएका छन् । उनलाई केन्द्रीय स्तरमा समेत सबै दलका नेताहरुले रुचाएका छन् ।

आफ्नो कार्य र अनुसन्धानमा आधारित निष्पक्ष छवि भएका भट्टको सरकार, निजी क्षेत्र, र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सकारात्मक सम्बन्ध, आर्थिक स्थिरताका लागि दीर्घकालीन योजना बनाउने स्पष्ट दृष्टिकोण छ । उनी नवीनतम प्रविधि र डिजिटल अर्थतन्त्रमा अग्रगामी सोच भएका अर्थवीदका रुपमा चिनिन्छन् । भट्ट नेपालको डिजिटल भुक्तानी र फिनटेक क्षेत्रलाई बढावा दिने प्रयास र आर्थिक अनुसन्धानलाई नीतिनिर्माणसँग जोड्न सफल मानिन्छन् । डा. भट्ट यिनै कारण र क्षमताका कारण नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सबैभन्दा योग्य उम्मेदवारका रुपमा हेरिएका छन् ।

उनको नियुक्तिले नेपालको वित्तीय क्षेत्रमा सुधार, स्थिरता, र प्रगतिको नयाँ अध्याय लेखिने विश्वास गरिएको छ ।

नेपाली काँग्रेसका तर्फबाट उनी एकल उम्मेदवार हुन् । सभापति शेर बहादुर देउवाले उनलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । देउवा कुनै पनि हालतमा भट्टलाई गभर्नर बनाउने अडानमा छन् ।

उनी कुनै स्वार्थ समूह र बिचौलियाको उम्मेदवार होईनन । त्यसकारण उनी गभर्नर भएमा मुलुक र मुलुकको अर्थतन्त्र र नेपाल राष्ट्र बैंकप्रति ईमान्दार हुने विश्वास गरिएको छ ।