अमेरिका-चीन करयुद्धः अमेरिकासँग व्यापार गर्ने देशहरूलाई चीनको कडा चेतावनी

अमेरिका र चीनबीच एक-अर्कामाथि कर लगाउने प्रतिस्पर्धा जस्तै देखिएको छ । अमेरिकाले एकपछि अर्को गर्दै चिनियाँ उत्पादनहरूमा कर लगाइरहेको छ । उता चीनले पनि त्यसको जवाफ दिइरहेको छ ।
यस्तो लडाइँ चलिरहँदा अमेरिकासँग व्यापार गर्ने अन्य राष्ट्रहरूलाई पनि चीनले चेतावनी दिएको छ । चीनको वाणिज्य मन्त्रालयले भनेको छ- चीनको नोक्सान गर्ने गरी अमेरिकासँग व्यापार गरिरहेका देशहरूको चीन विरोध गर्छ ।
मन्त्रालयले अगाडि भनेको छ- यदि यस्तो भएमा चीनले कडा जवाफी कदम उठाउनेछ । चीनले पछिल्लो समय अमेरिकाले लगाएको करलाई 'एकतर्फी नीति' को रूपमा व्याख्या गरेको छ र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेको छ ।
चीनको वाणिज्य मन्त्रालयले भनेको छ- तुष्टीकरणले शान्ति मिल्ने छैन । चीन आफ्ना अन्य मित्रहरूसँग मिलेर अमेरिकाको एकतर्फी नीतिको सामना गर्नका लागि तयार छ ।
अमेरिकाले अन्य देशमाथि चीनसँगको व्यापार सीमित गर्न दबाब बढाउन सक्ने रिपोर्ट बाहिरिएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो । बीबीसीका अनुसार उक्त रिपोर्टमा अमेरिकाले यस्तो दबाब बढाउँदै चीनसँग व्यापार घटाउने देशहरूलाई अमेरिकाले कर छुट दिन सक्ने उल्लेख थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको घोषणा गरेसँगै अमेरिका र चीनबीच करयुद्ध चलेको देखिएको छ ।
तपाईको प्रतिक्रिया