ट्रम्प सरकारविरूद्ध हार्वर्डले हाल्यो मुद्दा

काठमाडौं । हार्वर्ड विश्वविद्यालयले डोनाल्ड ट्रम्प सरकारविरूद्ध मुद्दा दायर गरेको छ ।
मासाच्युसट्समा रहेको अमेरिकी जिल्ला अदालतमा हालेको हार्वर्डका अध्यक्ष एलन एम. गार्बरले जानकारी दिए ।
हार्वर्डले कथित यहूदी विरोधी भावनाको सामना गर्न चासो नदेखाएको र उदारवादी राजनीति गरेको आरोप लगाउँदै ट्रम्प सरकारले २ अर्ब डलरभन्दा बढीको सङ्घीय कोष रोकेको थियो ।
मुद्दा दर्ता गरेपछि विश्वविद्यालयका अध्यक्ष गार्बरले एक सन्देश जारी गर्दै भने, “सरकारको अतिक्रमणको परिणाम गम्भीर र दीर्घकालीन हुनेछ ।”
ह्वाइट हाउसले यसबारे सोमबार राति एक विज्ञप्तिमा प्रतिक्रिया दिएको छ ।
“हार्वर्डजस्ता संस्थाहरूलाई दिइने सङ्घीय सहायता अब सहज रूपमा प्राप्त हुने छैन । यी संस्थाहरूका अत्यधिक तलब खाने प्रशासकहरू अमेरिकी करदाताहरूको पैसाबाट मालामाल भइरहेका छन्, जबकि आम अमेरिकी परिवारहरू सङ्घर्ष गरिरहेका छन् । करदाताबाट प्राप्त हुने रकम कुनै अधिकार होइन, त्यो एक विशेषाधिकार हो र हार्वर्डले त्यो विशेषाधिकार प्राप्त गर्नका लागि आवश्यक आधारभूत मापदण्डहरू पूरा गर्न सकेको छैन ।” विज्ञप्तिमा भनिएको छ ।
केही समयअगाडि ह्वाइट हाउसले हार्वर्डलाई मागहरूको सूची पठाएको थियो ।
विश्वविद्यालयमा यहूदी विरोधी भावनाविरुद्ध लड्न यी मागहरू तयार पारिएको ह्वाइट हाउसको दाबी थियो । यी मागहरूमा विश्वविद्यालयको प्रशासन, भर्ना र नियुक्ति प्रक्रियामा परिवर्तन समावेश थियो ।
तर, हार्वर्डले यी मागहरूलाई दृढतापूर्वक अस्वीकार गर्यो । विश्वविद्यालयले भनेको थियो, “ह्वाइट हाउसले हाम्रो समुदायमाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।”
तपाईको प्रतिक्रिया