काठमाण्डौंका आँखा र सुदूरका ‘सुईना’

बुधबार बैशाख १०, २०८२/ Wednesday 04-23-25
Paschim Today

मूलधारका भनिने नेपाली मिडियाले गभर्नरको चर्चा गरिरहदा पुछारमा पनि नअटाएका डा. गुणाकर भट्ट गभर्नर हुने निश्चितप्रायः भएपछि केही मिडिया र स्वार्थ समूहको निन्द्रा उडेको छ । नहोस पनि किन देशमा ठूला नियुक्तिको चर्चा हुदा सुदूर पश्चिमका मान्छेलाई काठमाण्डौंको चश्माले योग्य देख्दैन । डा. भट्ट उनीहरुका लागि अपवाद हुने कुरै भएन ।

सुदूर डोटीको कफल्लेकी गाउँको सामुदायीक विद्यालयबाट एसएलसी गरेर उच्च शिक्षा अध्ययनका लागि धनगढी झरेका भट्ट, जसले निजी विद्यालयको शिक्षकको जागीर खाएर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकको पढाई पुरा गरे ।

त्यसपछि त्रिभुवन विश्वविद्यालयमा एमबीएमा गोल्ड मेडल हात पारे । यो उपलब्धी उनका लागि मात्र नभएर सुदूरको सुदूर गाउँबाट काठमाण्डौं पस्ने जो कोहीका लागि सपना जस्तै हुन्थ्यो । उनको सपनाको उडान त्यतिमै रोकिएन, अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरे ।

सायद उनलाई माटोको माया हुदैनथ्यो भने, उनी त्यहीबेला विश्व बैंक वा संसारकै कुनै ख्यातिप्राप्त संस्थाको उच्च ओहोदामा जागीर हुन्थे । आफूले हासिल गरेको डिग्री, अनुभव, अन्तर्राष्ट्रिय ज्ञानलाई देशका आर्थिक उन्नयनमा समर्पित गर्ने सोचले उनी सबै सुखसुबिधा र अवसरहरु त्यागेर स्वदेश फर्किए । यसको अर्थ उनी यसरी फर्किने एक्लो हुन् भन्ने होईनन् ।

अढाई दशकदेखि नेपाली राष्ट्र बैंकको विभिन्न जिम्मेवारीमा रहेर आफ्नो क्षमता प्रदर्शन गरिसकेका भट्ट कुनै पनि भूमिकामा चुकेनन् । हरेक भूमिका र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । कहिले विवादमा परेनन् । राजनैतिक दलको फेर समातेर कुनै सिढी उक्लेनन् । फेर समातेका भए उहिल्यै डेपुटी गभर्नर भईसक्थे । भट्टले आफ्नै मिहिनेत र बलबूतामा यो मुकाम हासिल गरेका हुन् ।

यद्दपि काठमाण्डौंका मिडियाले शुरुवाती चरणमा भट्टको चर्चा गर्न नै जरुरी नै ठानेनन् । काठमाण्डौंका आँखाले ‘सुदूरका सुईना’ (सपना) कहिले देखेन । न त यहाँका संभावना देख्यो । न सुदूरका मान्छेमा उसले क्षमता देख्यो । सजिलो र आँखा अगाडिको कुरालाई उसले समाचार बनायो । तर सुदूर उसको नजरमा कहिल्यै परेन ।

यो देशका मिडियाले डा. सन्दुक रुईतको चर्चा गर्छ तर डा. विद्या प्रसाद पन्तको चर्चा गर्न जरुरी ठान्दैन । ईथियोपियाको राजधानीमा सन्दुक रुईतले चलाएको आँखा शिविर देख्ने मिडियाले त्यही समयमा ताञ्जनियाको ग्रामिण ईलाकामा आँखाको शिविर चलाईरहेका पन्तलाई देखेन । त्यसको अर्थ यो होईन कि रुईत चर्चा गर्न योग्य छैनन् । तर संसारमै सबैभन्दा बढि (अढाई लाख) मान्छेको आँखाको शल्यक्रिया गरेका डा. पन्त, जसले एकदिनमा सबैभन्दा बढि (३१२ जना) मान्छेको आँखाको शल्यक्रिया गरेका छन्, उनको चर्चा गर्न जरुरी नै ठान्दैन् ।

सुदूर पहाडका जनताका लागि भगवान सरह रहेका डा. मन्दीप पाठक काठमाण्डौंका मिडियामा अटाउदैनन् । उनीहरुलाई डा.भगवान कोईरालाईको भने चर्चा गर्न भ्याईनभ्याई छ । यद्दपि कोईरालाको योगदान प्रशंनीय छ । यसमा कुनै शंका छैन् ।

काठमाण्डौंका मिडिया पक्षपाती मात्र छैन् । पूर्वाग्रही पनि छन् । उनीहरुले यो देशको बिबिधता अझै स्वीकार गर्नै सकेका    छैनन् ।

अनलाईन खवरका प्रधान सम्पादक शिव गाउँले  नेपाली मूलधारका मिडियाले नेपालको सांस्कृतिक र भौगोलिक बिबिधतालाई पहिचान दिन नचाहेको कुरा स्वीकार्न गर्छन्।

मिडियाको बिबिधतामा हेर्ने दृष्टिकोणमा समस्या छ । त्यही दृष्टिकोणले बिबिधताले पाउनु पर्ने स्पेश पाएन, पत्रकार गाउँले भन्छन्, त्यसको असर काठमाण्डौंबाट तुलनात्मक रुपमा टाढा रहेको सुदूर पश्चिममा पनि प¥यो । त्यहाँबाट प्रतिनिधित्व गर्ने भट्ट जस्ता बीज्ञहरु समेत प्रभावित भए ।

व्यक्तिको बीज्ञतामाथि छलफल नै भएन । गभर्नर कसको भागमा पर्छ भन्ने मात्र छलफल भयो । र, समाचारहरु पनि त्यसैगरी आए, वरिष्ठ पत्रकार गाउँले थप्छन्, १० जनाको रोष्टर बनाएर छलफल बनाएर छलफल गराएको भए भट्टका विषयमा पनि चर्चा हुन्थ्यो होला । त्यहाँ त एमाले र काँग्रेस कसको भागमा पर्ने भन्ने सैद्धान्तिक लफडा भयो ।

पत्रकार आरती चटौतका मनमा पनि यो प्रश्न खट्कीरहन्छ । काठमाण्डौंले सुदूरपश्चिमलाई किन वास्ता गर्दैन ? किन दिदैन महत्व ? चटौत भन्छिन्, गभर्नरको विषय हाईप्रोफाईल भयो । साना साना कुरामा वेवास्ता गर्ने मूलधारका मिडिया र काठमाण्डौंले यो मुद्दामा त नजरअन्दाज गर्ने नै  भयो ।

काठमाण्डौंले सुदूरपश्चिमलाई वेवास्ता गरेको यो कुनै नयाँ घट्ना होईन,वरिष्ठ पत्रकार कुन्द दीक्षित भन्छन्, मूलधारका मिडिया पनि काठमाण्डौं केन्द्रित छन् । उनीहरुको नजरमा सुदूरपश्चिम अहिलेसम्म परेको छैन् ।

सुदूरपश्चिमलाई हेर्ने काठमाण्डौंको दृष्टिकोणमै समस्या रहेको पत्रकार दीक्षित बताउछन् । भन्छन्, त्यही दृष्टिकोण उसको व्यवहारमा देखिने गरेको छ ।

काठमाण्डौंका कतिपय साथीहरु भन्छन्, तिमी सुदूरपश्चिमेलीहरु भेगीय भावना राख्छौ ।

म उनीहरुलाई भन्छु, हामी देशलाई केन्द्रमा राखेर सोच्छौ । र, त्यो देशको केन्द्रमा पुग्ने क्षमता राख्ने सुदूरपश्चिमेलीहरुलाई रोक्न काठमाण्डौंले गर्ने षडयन्त्र र बहानाबाजीका बिरुद्ध भने हामी पार्टी र भूगोल नभनेर एक ठाउँमा उभिन्छौ ।

भन त, साथी सुदूरलाई अलग राखेर देश कसरी बलियो बन्छ ? सुदूरलाई अयोग्य देखेर देश कसरी योग्य हुन्छ ।

डा. वीएस बोहराहरुले चर्चामा नआएरै अवकाश पाए, जसले पुरै जीवन सुदूरपश्चिमका जनताको स्वास्थ्योपचारमा बिताए । दीर्घसिंह बम, अनुप उपाध्याय र चेतराज पन्तहरु यही माटोले जन्माएका हुन् । सुदूरमा जन्मिने र यो माटोमा सेवा गर्नेहरुको क्षमता र योग्यतामाथि काठमाण्डौंले सधै शंका गरिरह्यो । सधै अविश्वास गरिह्यो ।

पदक, तक्मा र नियुक्तिका लागि योग्यता, क्षमता, योगदान र निष्ठाको मूल्यांकन हुने दिन कहिले आउला ?

सुदूरपश्चिम भूगोल मात्र होईन । यो भावना पनि हो । संघीयतामा मुलुक जादा,जसको एक अंश पनि राज्य सञ्चालकहरुले अलग गर्न सकेन । यही हो, सुदूर पश्चिमको तागत । जसका अगाडि सत्ता सञ्चालकहरु झुक्न बाध्य भए ।

केआईसिंहपछि अर्को प्रधानमन्त्री कुर्न सुदूरपश्चिमले तीन दशक कुर्नु प¥यो । लोकेन्द्र बहादुर चन्दपछि शेर बहादुर देउवा सुदूरपश्चिमबाट प्रधानमन्त्री भए । अर्को शेर बहादुर जन्मिन अव युग कुर्नुपर्नेछ ।

बानेश्वरमा सुदूर पश्चिमेलीहरु भेटिन्छन् कि भनेर खोज्ने ५० को दशकका ती दिनहरु सम्झिनेहरुलाई थाह छ, त्यही काठमाण्डौंमा रहेको सिंहदरवार उनीहरुका लागि टाढा थियो । धेरै टाढा । अझ काठमाण्डौंमा सुदूरपश्चिमेली हूँ भन्न हिच्किचाउने दिनहरुको अन्त्य भएको धेरै भएको छैन ।

आफ्नै बलबूता र क्षमतामा मात्र यस्ता नियुक्ति र उपलब्धी हासिल गर्नु असंभव छ, त्यसका लागि राजनैतिक नेतृत्वको सदाशयता र विश्वास आवश्यक रहेको मुलुकमा देउवाकोपछि सुदूरपश्चिमेलीहरुले त्यो तहमा नियुक्त हुने संभावना विरलै हुनेछ । यो सत्य  हो ।

सत्ता गठबन्धनको प्रमुख दलको सभापतिसंग प्रधानमन्त्रीले गरेको सहमती कार्यान्वयन हुन त यति अलमल हुन्छ भने, के राजनैतिक नेतृत्वसंग पहूँच नै नभएको व्यक्ति यो देशमा क्षमता र योग्यता हुदैमा नियुक्त हुने अवस्था रहला र ?

सुदूरमा घन्किने देउडा टुडिखेलमा खेलिनुअघिका धेरै वर्ष काठमाण्डौंमा दविएको थियो । हाम्रो जीवन पद्धति बनेको गौरा र देउडालाई सगर्व हाम्रो संस्कृति हो भनेर भन्न सक्ने अवस्था धेरैपछि मात्र काठमाण्डौंमा बनेको हो । आज जसरी टुडिखेलमा देउडामा पैताला मिलाउन गौरा कुरिरहनु पर्दैन ।

सत्ताको सधै केन्द्रमा रहेका देउवासंग सुदूरपश्चिम समृद बनाउने धेरै अवसरहरु थिए । ती सबै अवसरहरु उनले के कति कारणले गुमाए वा पुरा गर्न सकेनन्, त्यो उनलै जानुन । तर यस पटक देउवासंग सुदूरले सधैभरीका लागि सम्झिने एउटा ठूलो अवसर छ, त्यो हो डा. भट्टलाई गभर्नर बनाउने ।

देउवा बोलीको पक्का मानिन्छन् । कम बोल्ने र आफ्नो अडानमा कायम रहने देउवाको त्यो स्वभावले उनका धेरै अवगुणहरु मानिसहरु सहजै बिर्सिन्छन् । सुदूर पश्चिम, जुन माटोमा उनी जन्मिए, हुर्किए, र जुन भूगोलले उनलाई देशकै सर्वोच्च पदमा पटक पटक पुग्ने अवसर प्रदान गरिरह्यो, यस पटक त्यो माटोलाई गुन लगाउने अवसर उनले गुमाउने छैनन भन्ने विश्वास छ ।

नेपाली मूलधारका मिडियालाई राम्रोसंग थाह छ, भट्ट लप्पन छप्पन जान्दैनन् । उनी आफ्नो कर्ममा विश्वास गर्छन् । र, आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छन् । र, अधिकारको दुरुपयोग गर्दैनन् । उनी कसैको स्वार्थमा काम गर्दैनन् । सायद भट्टको कमजोरी नै यही हो ।

राजनैतिक नेतृत्वबीच भट्टलाई गभर्नर बनाउने सहमती भएको कुरा बाहिर आयो । तर न सिफारिस समितिले भट्टलाई गभर्नरमा सिफारिस गरेको छ । न त भट्ट गभर्नर नियुक्त भएका छन् । तर अनुमानका भरमा अदालतमा रीट दायर हुन्छ । अदालतले पनि त्यस्तो रीट दर्ता गरिदिन्छ ।

गभर्नर प्रकृयालाई गिजोल्न र भट्टलाई नभएको बिवादमा पारेर अमूक समूहको स्वार्थमा अर्कै व्यक्तिलाई गभर्नर बनाउने नियतबाट यस्ता हर्कतहरु भईरहेका हुन् भन्ने बुझ्न गाह्रो हुदैन् ।

हरेक राजनैतिक दलको सदस्यता खल्तीमा राखेर उनले हिड्न जानेका छैनन् । मिडिया, विचौलिया र नेतालाई मिलाउन नजान्नु उनको कमजोरी ठानिन सक्छ ।

नभएका कमजोरी खोजेर उनलाई गभर्नर बन्नबाट रोक्न षडयन्त्र हुनु, त्यही कमजोरीको उपज हो भन्दा अन्यथा हुदैन् ।

मिडियाले समेत नपत्याएका भट्ट पहिले नै गभर्नरका रुपमा चर्चामा आएको भए, यो देशको पुरै शक्ति उनलाई त्यतिबेलै सक्थ्यो । उनी सबैभन्दा पछि चर्चामा आएका कारण सबैभन्दा कम निशानामा परे । ढिलो चर्चामा आउनु उनका लागि फाईदाजनक भयो । यद्दपि आफ्नो नाफाघाटा हरेर नियुक्ति प्रकृयामा हावी हुने स्वार्थ समूहहरु अर्काको नोक्सान गरेर रमाउनु कुनै नयाँ कुरा होईन् । अहिले भट्टका विरुद्ध जे भईरहेको छ, यो त्यही सोचको उपज हो ।

अझ कतिपय स्वार्थ समूहले नियुक्त हुनुअघि नै प्रतिबद्धता खोज्ने गरेको बिगतका घट्नाक्रमले देखाएको छ । त्यस्तो प्रतिबद्धता खोज्ने समूहहरुमा को पर्छन, को पर्दैनन, जगजाहेर छ ।

भट्टलाई गभर्नर बन्नबाट रोक्न सकिदैन भनेर राम्रैसंग बुझेकाहरुले जे जति बाधा, व्यवधान र विवादहरु सृजना गरिरहेका छन्, त्यसको पछाडिको कारण यत्ति हो ।

सुदूर पश्चिमले आरक्षण मागेको होईन । दया मागेको होईन । सदाशयता र कृपा चाहेको होईन । बाँकी भूगोलसंग प्रतिस्पर्धा गरेर आफ्नै क्षमतामा गभर्नर बन्न खोजिरहेका भट्टहरुले कहिल्यैसम्म योग्यताको परीक्षा दिईरहनु पर्ने हो ?

यो पनि होईन कि उनी गभर्नर नभए देशकै अर्थतन्त्र बिग्रिन्छ । र, यो पनि होईन कि, उनी गभर्नर भए देशको अर्थतन्त्र रातारात सुध्रिन्छ । तर एउटा कुरा पक्का हो, उनी गभर्नर भए, देशको अर्थतन्त्र सुधार गर्न उनले ईमान्दारीपूर्वक कोशिस गर्नेछन् । आफ्नो विवेक, सामथ्र्य,अध्ययन, अनुभवको भरपुर प्रयोग गर्नेछन् । यसमा दुबिधा छैन् । उनलाई गभर्नर बनाउनु पर्ने कारण पनि यही हो ।

आशा छ, बिलम्व नगरी भट्ट नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त हुनेछ ।