चीनको रोबोटिक क्षेत्र विश्व बजारमा अगाडि

बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25
Paschim Today

काठमाडौं । अमेरिकी ट्यारिफका कारण अहिले विश्वभर चिन्ता छ । धेरै देशहरू र त्यहाँ काम गर्ने कम्पनीहरूले अब आफ्नो नाफा–नोक्सानको मूल्यांकन गर्नुपर्ने अवस्था आएको छ । चीन पनि यसको असरबाट अछुतो रहने छैन, तर त्यहाँको एउटा सेक्टरलाई भने कुनै फरक परेको छैन् । चीनसँग यस्तो एक प्रविधि छ, जसलाई अमेरिकी ट्यारिफले समेत रोक्न सक्दैन् । सरल भाषामा भन्नुपर्दा, चिनियाँ उत्पादनहरू यति विशेष छन् कि ट्यारिफ पनि तिनका अगाडि झुक्न बाध्य छन् । यो हो चीनको रोबोटिक क्षेत्र, जहाँ बन्ने धेरै रोबोटहरू विश्वमै अनौठा र अनुपम छन् ।

साउथ चाइना मोर्निङ पोस्टको एक रिपोर्टमा चीनको सबैभन्दा ठूलो व्यापार मेलाको चर्चा गरिएको छ । मेलामा एक स्वचालित क्याफे विशेष आकर्षण बनेको छ । यो क्याफेमा एक रोबोटिक हातले काम गरिरहेको छ, जसले धेरै प्रकारका पेय पदार्थहरू अत्यन्तै छिटो बनाउँछ ।


रिपोर्ट अनुसार, सो क्याफेले ८ मिलियन युआनभन्दा बढीको अर्डर प्राप्त गरिसकेको छ । चीनले यस्तै अरु उत्पादनहरू, जस्तै – स्काईस्क्रेपर सफा गर्ने रोबोट र बायोनिक अंग बनाइरहेको छ, जुन अमेरिकी ट्यारिफको असरबाट जोगिनेछन। यस्ता उत्पादनहरूको लागि चीनले अमेरिका बाहेकका देशहरूबाट पनि ग्राहकहरू पाएको छ ।

रिपोर्टमा भनिएको छ कि यस्ता उत्पादनहरू अमेरिका स्वयंले बनाइरहेको छैन् । युरोप वा दक्षिण कोरियाले केही रोबोट बनाएका छन्, तर चिनियाँ रोबोटहरू तुलनात्मक रूपमा धेरै सस्ता छन् । त्यसैले ट्यारिफ लागू भए पनि चिनियाँ उत्पादनहरूले बजारमा प्रतिस्पर्धा कायम राख्नेछ । यद्यपि, ट्यारिफ धेरै बढेमा मूल्य बढ्न सक्छ ।

चीनका सफाइ रोबोटहरू अमेरिकामा आवश्यकताका रूपमा देखिन थालेका छन्, किनभने त्यहाँको सफाइ सेवा धेरै महँगो छ । चिनियाँ सफाइ रोबोटले एक भवनको बाहिरी भागलाई कम खर्चमा सफा गर्न सक्छ, त्यो चौबीसै घण्टा काम गर्न सक्छ र यसको औसत आयु झण्डै ८ वर्ष हुन्छ । यसको अर्थ, अमेरिकीले यदि यस्ता रोबोट खरिद गर्छन् भने दुई वर्षमै लगानी फर्काउन सक्नेछन् ।

रिपोर्टमा भनिएको छ कि व्यापार मेलामा चीनका धेरै कम्पनीहरूले भियतनामदेखि मध्यपूर्वसम्मका ग्राहकबाट ठूला अर्डरहरू प्राप्त गरेका छन् । सुरुमा चिनियाँ कम्पनीहरूलाई ट्यारिफको असरको डर थियो, तर अहिलेसम्म त्यस्तो असर देखिएको छैन् । यसको मुख्य कारण हो – यस्ता प्रविधिमा चीनसँग ठूला प्रतिस्पर्धी छैनन् । न अमेरिका, न जर्मनी, न जापानले यस्ता उपकरणहरू बनाएका छन् । दक्षिण कोरिया वा युरोपले केही बनाएका भए पनि, चीनको मूल्यसँग कसैले प्रतिस्पर्धा गर्न सकेको छैन् ।

विशेषज्ञहरूको भनाइ छ कि अमेरिकी ट्यारिफ भएता पनि पनि स्काईस्क्रेपर क्लिनिङ रोबोट, बायोनिक लिम्ब्स र अन्य चिनियाँ स्मार्ट उत्पादनहरू बजारमा टिकिरहनेछन् । यिनमा ट्यारिफको खासै असर नपर्ने अनुमान छ । रिपोर्ट अनुसार, चीनको झेजियाङ कियाङनाओ टेक्नोलोजी कम्पनीले आफ्ना बायोनिक खुट्टा र हातजस्ता उत्पादनहरू अमेरिकी बजारमा उतार्ने तयारी गरिरहेको छ ।

यी उत्पादनले अमेरिकाबाट आवश्यक प्रमाणपत्र पनि प्राप्त गरिसकेका छन् । रिपोर्ट भन्छ – ट्यारिफ लागे पनि यी चिनियाँ उत्पादनहरू विश्वमै अझै पनि सबैभन्दा सस्ता छन् ।