विपिन जोशीको रिहाइमा प्रयासरत : इजरायली राजदूत

कैलाली । नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रूपमा फिर्ता गराउनका लागि आफू प्रयत्नरत रहेको बताएका छन् । हमासको आतङ्कवादी समूहको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये आठ जना सुदूरपश्चिमका थिए भने एक जना विपिन जोशी भने अहिले पनि सम्पर्कविहीन अवस्था छ ।
नेपालका लागि इजरायली राजदूत बासले हमास घटनामा मारिएका सुदूरपश्चिम प्रदेशका आठ परिवारलाई भेटेर सहानुभूति दिन यहाँ आएको बताए । आतङ्ककारीको आक्रमणमा मारिएका विद्यार्थी डोटीका पदम थापा, राजन फुलारा, दार्चुलाका लोकेन्द्रसिंह धामी, कञ्चनपुरका दिपेश विष्ट र अपहरणमा परेका कञ्चनपुरकै विपिन जोशीको घरमा पुगेर उनले दुःख व्यक्त गरे् ।
दूतावासका अनुसार इजरायली सरकारले मारिएका नेपाली विद्यार्थीका परिवारका लागि इजरायली नागरिकका परिवारले आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । इजरायली नागरिकले अहिले पनि विपिन जोशीको तस्बिरसहित सुरक्षित फिर्ताका लागि प्रदर्शन गरिरहेका उनले बताए । इजरायली जनता विपिन जोशीलाई राम्ररी चिनेको भन्दै उहाँले उहाँको फिर्ताका लागि इजरायली सरकारले प्रयत्नरत गरिरहेको उनले बताए ।
गत शुक्रबार गोरखापत्रसँग कुरा गर्दै राजदूत बासले विपिनको मुक्तिका लागि इजरायली सरकारलाई छिटो सुरक्षित मुक्तिका पहल गर्न आग्रह गरेको बताए । इजरायली सरकारले हमासमाथि सैन्य दबाब पनि जारी राखेको उल्लेख गर्दै उहाँले बन्धकलाई रिहा गर्न बाध्य हुने विश्वास व्यक्त गरे । हामीलाई ५९ बन्धकमध्ये २४ जना जीवितै छन् भन्ने विश्वास भएको बताउँदै उनले बन्धक रहेकालाई सुरक्षित आफ्नो देश फिर्ता पठाउन पहल भइरहेको बताउनुभयो ।
बन्धक बनाएका विपिनका परिवारले नेपालका लागि इजरायली राजदूत बासलाई सुरक्षित नेपाल आउने वातावरण मिलाइदिन आग्रह गरेका थिए । इजरायलले युद्ध वा आतङ्कवादी आक्रमणमा आफन्त गुमाउने अन्य परिवारले पनि इजरायली नागरिक सरह नै समान सहायता र सहयोग दिँदै आएको बताए । उहाँले बन्धक बनाइएका विपिन जोशीको परिवारलाई पनि कानुन अनुसार पाउने सबै सहयोग उपलब्ध गरिरहेको बताए ।
उनले इजरायल सुरक्षित रहेको बताउँदै पर्यटक र विदेशी कामदार ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत फिलिपिन्स, थाइल्यान्ड, नेपाल र मलावीलगायतका विद्यार्थी कृषि प्रविधि सिक्न इजरायल आउने गरेको बताए तर दुर्भाग्यवश हामी आतङ्कवादको समस्याले पीडित छौँ, तर आतङ्कवाद अहिले नभए पनि केही महिनामा समाप्त हुन्छ, उनले भने, “हामी नेपाली कृषि कामदारका लागि इजरायलमा काम गर्ने अवसर प्रदान गर्न श्रम सम्झौताको मसौदामा काम गरिरहेका छौँ ।” काठमाडौँ उपत्यकाबाहिर सुदूरपश्चिम भ्रमण पहिलो प्रदेश रहेको बताउँदै उनले यहाँका दृश्य धेरै सुन्दर र मनमोहक रहेको समेत बताए । यहाँ प्राकृतिक परिवेश अतुलनीय र धेरै पहाड, उपत्यका, नदीनाला, वनजङ्गलले भरिएको प्रदेश रहेको बताए ।
तपाईको प्रतिक्रिया