नेपाल डे परेडमा सुदूर पश्चिम संस्कृतिको भव्य प्रदर्शन

मंगलबार जेठ ७, २०८२/ Tuesday 05-20-25
Paschim Today

न्यूयोर्क, १९ मे ।
गैर आवासीय नेपाल संघ न्यूयोर्क च्याप्टरको आयोजना तथा महावाणिज्य दूतावासको सहयोगमा १८ मेममा न्यूयोर्कमा आयोजित नेपाल डे परेडमा सुदूर पश्चिमको झाँकी प्रदर्शन गरिएको छ ।

नेपालका सात वटै प्रदेशका संस्कृति र पहिचान झल्काउने झाँकीहरु प्रदर्शन गरिएको नेपाल डे परेडमा सुदूर पश्चिम प्रदेशको संस्कृति, भेषभुषा, बाजा, डेउडा र पर्यटकीय गन्तव्यहरुको प्रदर्शनीले सबैलाई आकर्षित गरेको थियो ।

सुदूर पश्चिम समाजका तर्फबाट यस पटक थप गरिएको राना थारु र चौधरी समुदायको पहिरन यस पटक थप आकर्षण बनेको थियो । डे परेडमा सुदूर पश्चिम प्रदेशको उत्कृष्ट प्रदर्शन र सहभागिता रहेको थियो ।

नेपाल डे परेडमा  सुदूर पश्चिमका खप्तड, बडिमालिका, रामारोशन,शुक्लाफाँटा, अपि हिमाल, उग्रतारा, शैलेश्वरी, त्रिपुरा सुन्दरी, घोडाघोडी, कर्णाली नदीको पुल लगायतका पर्यटकीय गन्तव्यहरुका तस्वीरहरु सहित सुदूरपश्चिमको पहिचान झल्काउने भेषभुषाले सजाइएको ट्रकले म्यानह्याटन ३८ स्ट्रिट म्याडेसनदेखि २३ स्ट्रिटको म्याडिसन परिक्रमा गरेको थियो ।

सुदूरपश्चिमेली पहिरन गामन  र सुदूर पश्चिमको भेषभुषामा सजिएका सुदूर पश्चिमका महिलाहरुले गौरा प्रदर्शन गरेका थिए । नेपाल डे परेडमा सुदूरपश्चिमको डेउडा, हुडके, छलिया, दाहिना–दमाउ बाजाले सबैलाई आकर्षित गरेको सुदूर पश्चिम समाजका अध्यक्ष दान सिंह बिष्टले बताए । 

बिष्टले नेपाल डे परेडमा सुदूर पश्चिमको प्रदर्शन उत्कृष्ट रहेको बताए । उनले डे परेडमा सहभागी हुने सम्पूर्ण सुदूर पश्चिमेलीहरु र डे परेड भव्यतापूर्वक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

नेपाल डे परेड २०२५ लाई भव्यतापूर्वक सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशका तर्फबाट प्रदर्शन गरिने झाँकी तथा सांस्कृतिक कार्यक्रमका लागि बिभिन्न समितिहरु गठन गरिएका थिए ।

नेपाल डे परेडका लागि सुदूर पश्चिम प्रदेशका लागि सुदूर पश्चिम प्रदेश समाज न्यूयोर्कका दान सिंह बिष्टलाई संयोजक र रैभान महरालाई उपसंयोजकको जिम्मेवारी दिईएको थियो ।

न्यूयोर्कको म्यानह्याटन ३८ स्ट्रिट म्याडिसन एभिन्युबाट शुरु भएको परेड २३ स्ट्रिटको म्याडिसनमा समापन भएको थियो ।