मासिँदै ‘देउठन्वा’, संरक्षण गर्न सरोकारवालाको जोड

कैलाली । थारू समुदायको देउठन्वा (पूजा गर्ने स्थान) को भौतिक संरचना मासिने क्रम बढेकोप्रति सो समुदायका व्यक्तिले चिन्ता व्यक्त गरेका छन् । सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यान्वयन एकाइको सहयोगमा सङ्घारी मल्टिपल सर्भिस एन्ड रिसर्च प्रालिले मङ्गलवार धनगढीमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाहरूले देउठन्वा मासिन थालेको भन्दै संरक्षण गर्न सरकारलाई आग्रह गरेका थिए ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य पुरनप्रसाद चौधरीले थारु समुदायका कुल देउता मरुवा\देउठन्वा जीर्ण अवस्थामा रहेको बताउँदै यसको संरक्षणका लागि प्रदेश तथा स्थानीय सरकारसँग बजेट विनियोजनको माग गरेका थिए । उनले देउठन्वा बनाउन जग्गाको अभाव हुँदा सांस्कृतिक स्थल लोप हुने अवस्थामा पुगेको भन्दै राज्यले जग्गा उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
त्यस्तै, थारु कल्याणकारिणी सभा कञ्चनपुरका अध्यक्ष सानु चौधरीले पहिले गाउँमा बनाइएका देउठन्वा अहिले संरक्षणको अभावमा अतिक्रमणमा परेको बताइन् ।उनले सरकारले बनाउने मरुवा मन्दिरहरू थारु परम्पराअनुसार नभई अन्य शैलीमा निर्माण हुँदा थारु संस्कृतिको मौलिकता गुमिरहेको बताइन् ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले थारु समुदायका कुल देउता देउठन्वा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको बताएका थिए । उनले संरक्षणमा सरकारको ध्यान जान जरुरी रहेको बताए ।
सहभागीहरूले प्रदेश लोक सेवा आयोगमा थारु समुदायको समावेशिता नहुनुले थुप्रै व्यक्ति अवसरबाट वञ्चित हुनुपरेको समेत गुनासो गरेका थिए ।
कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका सचेतक गीता चौधरीले पनि थारु कला संस्कृति र रहनसहन जोगाउन आवश्यक रहेको औँल्याएकी थिइन् ।
“हाम्रो कला, संस्कृति संरक्षणसहित पुस्तान्तरण गर्न सकेनौँ भने परम्परा र पहिचानसँग जोडिएका धेरै चीजहरू लोप हुने खतरा छ”उनले भनिन्, , “थारु समुदायमा माटोको घर र देउता पुज्ने चलन छ। देउठन्वासँगै अरू देवदेवताको पनि पूजा गरिन्छ, त्यसबारे नयाँ पुस्ताले जानकारी लिन जरुरी छ।”
प्रदेश सभा सदस्य चौधरीले थारु समुदाय प्रकृति र संस्कृतिप्रति श्रद्धालु रहेको बताइन् । उनले यस्ता संस्कृति मौलिक पहिचान भएकाले संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएकी थिइन्।
कार्यक्रमको अन्तरक्रिया सत्रमा थारु समुदायका कला–संस्कृति अनुसन्धानकर्ता शेखर दहित र थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले थारु भाषा, कला, संस्कृति र देउठन्वासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
संघारी मल्टिमिडिया सर्भिस एन्ड रिसर्च प्रा.ली. धनगढीका अध्यक्ष उन्नति चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पहुरा दैनिकका कार्यकारी सम्पादक राम दहितले गरेका थिए
तपाईको प्रतिक्रिया