११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप अर्को साता हुने

शुक्रबार जेठ १७, २०८२/ Friday 05-30-25
Paschim Today

काठमाडौं । नेपाल गल्फ संघको आयोजनामा आगामी साता नेपालमा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आयोजना हुने भएको छ ।

संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो प्रतिष्ठित प्रतियोगिता यही जेठ २० देखि २२ गतेसम्म (जुन ३-५) ७२-पारको गोकर्ण गल्फ क्लबमा हुने जानकारी दिएको छ 

तीन दिने ५४ होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बङ्गलादेश, श्रीलंका, भुटान र भारतका गरी कुल पाँच राष्ट्रका खेलाडीहरूले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने गल्फ संघका अध्यक्ष टासी घलेले जानकारी दिए ।

पुरुषतर्फ व्यक्तिगत र टिम विधामा प्रतिस्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई-दुई खेलाडी चयन गर्नेछन र ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने आयोजकले जनाएको छ । आयोजक राष्ट्र नेपालले दुई टिम सहभागी गराउनेछ।

व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ। सहभागी खेलाडी मध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन। महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ ।

दक्षिण एसियाका सबै राष्ट्रलाई निमन्त्रणा गरेपनि पाकिस्तान आउन नचाहेको र माल्दिभ्समा गल्फ कोर्स नभएकोले ५ राष्ट्रका खेलाडी मात्र सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ४५ पुरूष र १० महिला गल्फरको सहभागीता रहने निश्चित भएको छ । नेपालबाट करिब ३० देखि ३५ खेलाडी सहभागी हुने नेपाल गल्फ संघले जनाएकोछ ।

आइतबारसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकोले यो सङ्ख्या बढ्न सक्ने गल्फ संघले जनाएको छ । यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्‍याङ्किङ (WAGR) द्वारा मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्‍याङ्किङ अंक समेत प्राप्त गर्नेछन् ।

यो प्रतियोगिताले नेपालको साथै दक्षिण एसियामा युवा विकास र एमेच्योर गल्फको बिकास तथा प्रवर्द्धन गर्नका लागि महत्वपूर्ण योगदान दिइरहेको छ। यस इभेन्टलाई अझ ठुलो बनाउने लक्ष्य रहेको गल्फ संघले जनाएको छ ।

whatsapp sharing button