प्रधानमन्त्री ओलीविरुद्ध कारबाहीको माग गर्दै सर्वोच्चमा मुद्दा

मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25
Paschim Today

काठमाडौँ । अदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद्को कार्यालय र अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध मुद्दा परेको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदातलको अवहेलनामा हदैसम्मको सजायको कारबाही माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दिएका हुन् । मुद्दामा प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले अदालतको अवहेलनाको गम्भीर कसूर गरेकाले २४ घण्टाभित्र अदालतमा उपस्थित तत्काल बयान गराई अदालतबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४)  बमोजिम  हदै सम्मको  (एक वर्ष कैद र दश हजार जरिबाना) सजाय, विपक्षीहरुलाई तत्काल पदमुक्त, भविष्यमा सार्वजनिक पद धारण गर्न अयोग्य घोषित तथा बजेटको बुँदा नम्बर ८७ कार्यान्वयन गर्न तत्काल रोक्नुपर्ने माग निवेदनमा गरिएको छ । 

सोमबार दर्ताका लागि दिइएको निवेदन दर्ता भने भएको छैन । अधिवक्ता त्रिपाठीले सोमबार दर्ता नभएको र मंगलबार दर्ता हुने बताएका छन् । उनले प्रधानमन्त्रीविरुद्ध निवेदन आउनासाथ सिधै दर्ता हुन नसकेको र मंगलबार हुने बताएका हुन् ।

उनले निवेदन दरपिठ हुने सम्भावना नरहेको भन्दै दर्ता भएरै प्रक्रिया अगाडि बढ्ने दाबीसमेत गरेका छन् ।