एसईईको कमजोर नतिजा: के भन्छन् सरोकारवालाहरु ?

डोटी । ‘शिक्षकहरुले आफ्ना छोराछोरी बोर्डिङ्गमा पढाउँछन्, अनि पढाईमा लापरवाही गर्छन्, सोचे जस्तो नतिजा आउँदैन । शिक्षकहरुलाई आफैँप्रति विश्वास नभएर त होला नि आफ्ना छोराछोरी बोर्डिङ्ग पढाउने !’
डोटीको सायल गाउँपालिका—४ कि अभिभावक महेसरा नागरीको भनाई हो यो । विद्यालय शिक्षा परीक्षा (एसइई) को नतिजा राम्रो नआउनुका पछाडिका धेरै कारणहरुमध्ये एउटा कारण शिक्षकले आफु जुन विद्यालयमा कार्यरत छन्, सो विद्यिालयमा आफ्ना छोराछोरी नपढाउन भएको उनी बताउँछिन् ।
एसईई नजिता नराम्रो आउनुमा अभिभावकहरुको पनि लापरवाही रहेको महेसराको भनाई छ । उनी भन्छिन् ‘घरबाट विद्यालय त पठाउँछौं, तर विद्यालय जान्छन् कि जाँदैनन्, राम्रोसँग पढ्छन् कि पढ्दैनन् भन्ने हेर्नु हाम्रो जिम्मेवारी हो, त्यो हामीहरु गरिरहेका छैनौं ।’ उनी पछिल्लो समय मोवाइलको गलत प्रयोगले पढाई कमजोर भएको बताउँछिन् । बच्चाहरु जवरजस्ती मोवाइल लगेर दिनभरि रातभरि गेम खेल्ने, भिडियो हेर्ने गर्ने गरेको महेसरा बताउँछिन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रवार सार्वजनिक गरेको एसइईको नतिजा अनुसार डोटी जिल्लाबाट ३६.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुनै पनि विद्यार्थीले ४ जीपीए लाउन सकेनन् । एसइईमा सहभाभि भएका जिल्लाका ९ संस्थागत सहित ९८ विद्यालयमध्ये ५ विद्यालयले शुन्य प्रतिशत नतिजा ल्याए । २ संस्थागत विद्यालयले मात्रै शतप्रतिशत बिद्यार्थी उत्तीर्ण गर्न सके ।
एसईईमा सहभागि २ हजार ९१४ जना विद्यार्थी सहभागी भएकामा १ हजार ८४१ विद्यार्थी अनुत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्राविधिक सहायक ममता पालले जानकारी दिइन् ।
नतिजा कमजोर आउनुमा सबै सरोकारवाला उत्तिकै जिम्मेवार रहेका बताउँछन् पद्म पव्लिक मुक्ति नारायण माबिका शिक्षक हिक्मत शाही । ‘स्थानीय तहहरुमा नाम मात्रको शिक्षा शाखा छ, त्यो शाखामा न कर्मचारी छन्, न योजना छ’ शाही भन्छन् ‘विद्यालयको नियमित अनुगमन निरीक्षण गर्ने, आवश्यक निर्देशन दिने, सुधारका लागि सल्लाह दिने कुनै निकायनै छैन ।’
जनप्रतिनिधिहरुले शैक्षिक गुणस्तर सुधार गर्ने ठोस योजना बनाई कार्यान्वयन गर्नुको सट्टा शिक्षकलाई दोष दिएर उम्किने गरेको शाहीको बुझाई छ । उनी विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन नसक्नुमा प्रधानाध्यापकहरुको पनि कमजोरी देख्छन् । ‘प्रधानाध्यापक भएपछि पढाउनु पर्दैन भनेरै जिम्मेवारी लिएका छन् कतिले त’ शाही भन्छन्, ‘उनीहरुले कुशल नेतृत्व दिन सकेका छैनन् ।’
अभिभावकहरुलाई आफ्ना छोराछोरीको कुनै वास्तानै नभएको जस्तो देखिएको शाहीको अनुभव छ । पटक पटक अभिभावक भेला डाक्दा पनि अभिभावकहरु नआइदिने, आफ्ना छोराछोरीको पढाई कस्तो छ भन्ने कुनै खोजीनै नगर्ने गरेको शाहीको भनाई छ । उनी थप्छन् ‘नतिजा आउँदा मात्रै सरोकारवालाहरु तात्ने तर आ–आफ्नो जिम्मेवारी कसैले पुरा नगर्ने अनि कसरी हुन्छ सुधार ?’
एसईईको नतिजा कमजोर हुनुमा आधारभूत तहकै शिक्षा बलियो नहुनु रहेको वताउँछन् केदारेश्वर माबि कपल्लेकीका प्रधानाध्यापक गगन सिंह कार्की । ‘१० कक्षामा पुगेपछि विद्यार्थी पनि शिक्षक पनि धेरै मेहनत गर्ने तर जगैदेखि सुधार गरेर नल्याउने भएका कारण नतिजा राम्रो आउँदैन’ कार्की भन्छन् ‘९/१० का विद्यार्थीहरुलाई प्रारम्भिक कुरा सिकानु पर्ने अवस्था छ ।’
अभिभावकको निगरानी नभएका कारण पनि विद्यार्थीहरु फेल हुने गरेको कार्कीको अनुभव छ । ‘कतिपय बिद्यार्थीका आमाबुवा दुवै रोजगारीका लागि भारत गएका छन्, घरमा राम्रो अभिभावकत्व छैन’ कार्की थप्छन् ‘केही शिक्षकहरुमा पनि जागिरे मनस्थिति मात्रै देखियो ।’
अहिलेका बालबालिकाहरु “स्क्रिन माइण्ड” भइसकेकाले कक्षाकोठाहरुलाई स्मार्टबोर्डयुक्त बनाउनुपर्ने, शिक्षकहरुलाई पुनर्ताजकीय तालिम दिई प्रविधिमैत्री बनाउनुपर्ने, अभिावक शिक्षामा जोड दिनुपर्ने कार्कीको सुझाव छ ।
विद्यालयहरुले शिक्षकनै नपाउनु नतिजा कमजोर आउनुमा प्रमुख कारण देख्छन् जोरायल गाउँपालिकाको शिक्षा शाखा प्रमुख तेजबहादुर खत्री । ‘७/८ पटक बिज्ञापन गर्दा पनि गणित बिज्ञान विषयको शिक्षक पाईदैन, बल्लतल्ल खोजेर ल्यायो दुईचार महिनामै छोडेर जान्छन्’ खत्री भन्छन् ‘शिक्षकहरुलाई पेशाप्रति आकर्षिकत हुने कुनै सेवा सुविधा छैन ।’ करार शिक्षक भर्ना गर्दाको कानुनी जटिलताले पनि समस्या ल्याएको खत्रीको भनाई छ । जनशक्तिनै नपाइने विअध्यापन अनुमति पत्र अनिवार्य नहुने गरी कानुन निर्माण हुनु पर्ने उनको भनाई छ ।
कक्षाकोठामा विद्यार्थी संख्या कम हुनु अर्को कारण भएको खत्रीको भनाई छ । उनी भन्छन् ‘विद्यार्थी संख्या थोरै हुन्छ, यसले न शिक्षकलाई पढाउने जाँगर आउँछ, न विद्यार्थीहरुबीच प्रतिस्पर्धाको भावना हुन्छ, त्यसैले पनि धेरै मेहनत गर्दैनन् ।’ जनप्रतिनिधिहरुले गाली खाइन्छ भन्ने डरले मात्रै विद्यालयहरु गाभ्न नसकेका हुन सक्ने खत्रीको बुझाई छ, भन्छन् ‘४ जना, ५ जना विद्यार्थी भएका कक्षा कोठाहरु छन् धेरै विद्यालयमा ।’
विद्यालय शिक्षाको गुणस्तर सुधार नहुनुको मुख्य कारण सरोकारवालाहरुले एकअर्कालाई दोषारोपण मात्रै गर्ने तर आफ्नो जिम्मेवारी पुरा नगर्ने रहेको बताउँछन् शिक्षा विकास तथा समन्वय ईकाई डोटीका प्रमुख भिम पनेरु । ‘विद्यालयमा अनावश्यक राजतीतिक हस्तक्षेप हुन्छ, राम्रो व्यक्तिलाई प्रधानाध्यापक चुन्नु भन्दा आफ्नो मान्छेलाई कसरी बनाउने भन्ने दौड हुन्छ’ पनेरु भन्छन् ‘स्थानीय तहहरुले नीति निर्माणमा काम गर्ने र स्रोतको उचित व्यवस्थापन गरिदिनु पर्नेमा प्रशासकीय कार्यमा पनि हस्तक्षेप गर्ने गर्छन् ।’
शिक्षकहरु पनि राजनीतिक संरक्षण पाइरहने हुनाले आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध नभएको बताउँछन् उनी । शिक्षकहरुले शिक्षक निर्देशिकाबिनै पढाउने गरेको, विद्यालयमा पर्याप्त जनशक्ति र पूर्वाधार नभएको, शिक्षकहरुमा प्राविधिक ज्ञानको कमी र कार्यस्थलमै समस्याको उचित समाधानका लागि सहजीकरण गरिदिने बिज्ञको अभाव रहेको पनेरुको अनुभव छ । उनी थप्छन् ‘सार्वजनिक शिक्षामा सरोकारवालाहरुको लगानी पनि धेरै कम भयो ।’
एसईईका नतिजालाई विश्लेषण गर्दा आवासीय विद्यालयको नतिजा राम्रो देखिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्का बताउँछन् । ‘सामुदायिक विद्यालयहरुमै पनि जहाँ जहाँ आवासीय व्यवस्था छ, त्यहाँको नतिजा राम्रो आएको देखिन्छ’ उनी भन्छन् ‘त्यसकारण अव यस विषयमा पनि बहस चलाउनुपर्ने देखिन्छ ।’
भौगोलिक दुरीका कारण विद्यार्थीहरुले विद्यालय आउजाउँ गर्नमै ३/४ घण्टा लाउनु पर्ने बाध्यता भएका कारण घरबाटै विद्यालय जाने विद्यार्थीको नतिजा त्यति राम्रो नदेखिएको खड्काको भनाई छ ।
अभिभावकहरुमा शिक्षाप्रतिको चेतना अभाव, शिक्षकहरुले आफुलाई आधुनिकिरण गर्न नसक्नु, बालबालिकाको रुची अनुसारको शिक्षण बिधिको प्रयोग हुन नसक्नु र विद्यार्थीहरुमाथी घरायसी कामको बोझ भएका कारण पनि नतिजा कमजोर भएको हुन सक्ने खड्काले बताए ।
तपाईको प्रतिक्रिया