सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ हिमाल आरोहण गर्दा शुल्क नलाग्ने

दार्चुला : सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाल आरोहण गर्दा लाग्ने शुल्क दुई वर्षका लागि मिनाहा गरिने भएको छ । चालु आर्थिक वर्ष र आगामी आव २०८३/०८४ मा दुईवटै प्रदेशका ९७ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिहाना मन्त्रिपरिषद्ले गरेको हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको सबैभन्दा अग्लो ७१३२ मिटर अपी हिमालसहित ९७ हिमाल आरोहणमा लाग्ने शुल्क मिहानाले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम र कर्णालीमा रहेका ९७ हिमाल आरोहणमा दुई वर्षका लागि पूर्णरुपमा सलामी शुल्क छुट गर्ने निर्णय गरेको हो । नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ र २०८३/०८४ का दुई आर्थिक वर्षका लागि पर्यटन ऐन २०३५ को दफा ३६ तथा पर्वातारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३२ को देहाय (ख) बमोजिम सलामी शुल्क पूर्णरुपमा छुट दिने निर्णय गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका ६ हजार माथिका हिमालहरुको हालसम्म सफल आरोहण हुन नसकेको अवस्थामा हिमाली पर्यटनको विकासका लागि अपि हिमाल गाउँपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागलाई सुदूरपश्चिममा रहेका हिमालहरुको आरोहण शुल्क मिनाहा गर्न वैशाख २ गते अनुरोध गरेको गाउँपालिका अध्यक्ष बोहराले बताए । हिमाली पर्यटनको विकासको गर्दै यहाँका जनताको जीवनस्तर र जीविकोपार्जनमा सुधार गर्न हिमाल आरोहण लगायत शुल्क मिनाह गर्न अनुरोध गरेका थिए । आफ्नो अनुरोध स्वीकार्दै सरकारको यो निर्णयले प्रदेशका उच्च हिमाली पर्यटनको ढोका खोलेको उनको बुझाइ छ ।
सरकारले गरेको यो निर्णय सुदूरपश्चिम र कर्णालीवासीको लागि ऐतिहासिक छ, यसले हिमाली पर्यटनको विकास त हुन्छ नै यसको साथै यस क्षेत्रका स्थानीयको जीवनस्तरमा सुधार, आर्थिक उपार्जन र अन्य विकासमा सहयोग पुग्ने अपी हिमाल गाउँपालिका अध्यक्ष बोहराको बुझाइ छ ।
सुदूरपश्चिममा ७१३२ मिटर(मि). अग्लो अपि, ७,११० मि. अग्लो नाम्पा चुली, सैपाल इस्ट ६,८८२ मि., जेठी बहुरानी ६,८५० मि. अग्ला हिमाल रहेका छन् । त्यस्तै, कर्णाली प्रदेशमा सैपाल ७,०३१ मि., कान्ति हिमाल ६,८५९ मि., कान्जिरोवा नर्थ ६,६२७ मि., पुथा वेस्ट ६,६२० मि. लगायत हिमाल रहेका छन् । यी हिमालका आधार शिविरहरूमा पर्यटकहरू ट्रेकिङका लागि पुग्ने गरेपनि सफल आरोहण हुन सकेको छैन ।
यो निर्णयले यस क्षेत्रका नागरिकमा प्रत्यक्ष फाइदा पुग्ने र जीवनस्तरमा सुधार आउने देखिन्छ । हिमाली पर्यटनको थुप्रै सम्भावना रहेको सुदूरपश्चिम र कर्णाली प्रदेशमा हालसम्म यसको विकास हुन सकेको थिएन । सरकारले गरेको यो निर्यणले सुदूरपश्चिम र कर्णालीको हिमाली पर्यटन विकासमा टेवा पुग्ने सुदूरपश्चिमका पर्यटन व्यवसायी पदमबहादुर सिंहले बताए ।
अपी हिमाल बेस क्याम्पसम्म आन्तरिक तथा बाहृय पर्यटन भित्र्याउन गाउँपालिकाले विगत तीन वर्षदेखि विभिन्न पूर्वाधारका कामहरु गर्दै आएको छ । संघ र प्रदेश सरकारको सहयोगमा पर्यटन मार्ग, पर्यटक गाइड तालिम, होमस्टे तालिम, पाहुनाको आदान सत्कार गर्नेसम्म सम्बन्धी तालिम, आवास गृह निर्माणका काम भएका छन् । अपी हिमाल गाउँपालिकाका अध्यक्ष बोहराले भने, ‘पालिकासँगै निजी क्षेत्रबाट पनि पर्यटकहरुको सहजताका लागि पूर्वाधार निर्माण भइरहेका छन् ।’
तपाईको प्रतिक्रिया