कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने प्रवृत्ति देखियोः शेखर कोइराला

मोरङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको ‘जेन–जी’ पुस्तालाई पार्टीसँग जोड्नुपर्ने बताएका छन्। विराटनगरमा शनिबार आयोजित एक कार्यक्रममा नेता कोइरालाले पार्टीलाई आउने दिनमा बलियो बनाउन जेन–जी पुस्तालाई जोड्नु आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘भोलिका लागि पार्टी बलियो बनाउन जेन–जी पुस्तालाई पार्टीसँग जोड्नुपर्छ। यसो नहुँदा पार्टीको भविष्य नै धराशायी बन्ने खतरा देखिएको छ। पार्टी कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ। नेपाली जनता पनि लोकतन्त्र विना बाँच्न सक्दैनन्।’
लोकतन्त्रको जर्गेना कांग्रेसले नै गर्ने बताएका नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि पार्टीको भूमिकाबारे युवा पुस्तालाई बुझाउन जरुरी देखिएको उल्लेख गरे।
उनले राजनीतिप्रति युवाहरुको वितृष्णा रहेको हुँदा वितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको बताए।उनले पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको बताए।
कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले नहार्ने कोइरालाको भनाइ छ। नेता कोइरालाले भने, ‘म पार्टीको कामले जिल्लाहरुमा साथीहरुसँग हुन्छु। त्यहाँ पुग्दा कांग्रेस मात्रै देख्छु। तर, मलाई अचम्म लाग्छ, संगठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ।’
पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै नेता कोइरालाले तर एमाले र अन्य पार्टीहरूसितको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘पार्टीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति छ। यसले पार्टीलाई नै घाटा भइरहेको छ।’
उनले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझावसमेत दिए। उनले भने, ‘शेरबहादुर देउवाजी जत्तिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन। उहाँले त सबै दलका नेतालाई घरमै चिया खान बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो।’
उनले थपे, ‘तर, उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ। नेता भएपछि सबैसित भेट्नुपर्छ। सबैलाई भेट्ने मेरो आदत छ। त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसित भेट गरेको हुँ। विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ।’
तपाईको प्रतिक्रिया