कैदीबन्दीको कब्जामा कैलाली कारागारको घटनास्थल, प्रहरी र मानवअधिकारको टोलीसमेत पुग्न सकेन

शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

कैलाली । एक जनाको मृत्यु हुनेगरि झडप भएको कैलाली कारागारको घटनास्थल अहिलेसम्म पनि कैदी बन्दीको कब्जामा रहेको छ ।

कैलाली कारागारमा बिहान प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली पुगेको थियो । कारागार प्रशासन सम्म पुगेको जिल्ला सुरक्षा समितिको टोली कैदी बन्दीले घटनास्थलसम्म जान नदिएपछि फर्किएको थियो ।

चारैबाट सुरक्षा निकायका प्रमुखहरूसहित गएको टोली घटनास्थलमा जान नसकेपछि जिल्ला प्रशासन कार्यालयमा आएर सुरक्षा समितिको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिन्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् । अहिले राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि त्यहाँ पुगेको छ । तर, घटनास्थल सम्म पुग्ने अवस्था देखिएको छैन ।

‘हामी अहिले घाइतेहरूको उपचारमा लागिरहेका छौँ घटनास्थलमा जान सकिएको छैन’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने । हिजो राति भएको झडपमा १ जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी र मानवअधिकारको टोलीसमेत पुग्न नसक्दा त्यहाँको वास्तविक अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।

अहिलेसम्म पनि घाइतेका आफन्तहरूले घाइतेलाई भेट्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।