विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा भएको प्रधानमन्त्री ओलीको दाबी

शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु. साढे चार अर्ब फाइदा भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन् । 

“हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्। 

प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आम प्रयोगमा विद्युत् भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरेका छन् ।