ऐन बनेसँगै भलमन्सालाई प्रमाणपत्र वितरण

शनिबार श्रावण ३२, २०८२/ Saturday 08-16-25
Paschim Today

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ। पालिकाले भलमन्साहरूलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो।

कञ्चनपुरको बेलौरी नगरपालिका–९, ढिक्का कुण्डाका वीरबहादुर चौधरी गत माघ महिनामा भलमन्सा पदमा चयन भए। २६ चौधरी परिवार रहेका डाँडा कुण्डामा यस पटक चौधरी समुदायबाट वीरबहादुर भलमन्सा पदमा सर्वसम्मत छनोट भएका हुन्।

चौधरी समुदायले सर्वसम्मत अथवा निर्वाचनबाट भलमन्सा छनोट गर्दैआएका छन्। यसअघि डाँडा कुण्डामा लोकेन्द्र चौधरी भलमन्सा थिए। उनले झन्डै पाँच वर्ष भलमन्सा भएर सेवा गरेको अनुभव सुनाए। चौधरी परिवारलाई आवश्यक परेका बखत साथ सहयोग र गाउँ ठाउँको विकासमा काम गर्ने उनले प्रतिबद्धता जनाए। शुक्रवार बेलौरी नगरपालिकाले भलमन्सा पदमा छनोट भएको प्रमाणपत्र प्रदान गरेर थप हौसला प्रदान गरेको भन्दै उनले हर्ष व्यक्त गरेका छन्।

वीरबहादुरझैँ शुक्रबार नयाँ चयन हुनुभएका २६ जना भलमन्साहरूलाई प्रमाणपत्र प्रदान गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताए। नगरपालिकाले छुट्टै भलमन्सा ऐन (२०७८) पनि जारी गरेर राना थारू समुदायको पक्षमा काम गर्दैआएको नगर प्रमुख चौधरीले बताए। भलमन्साहरुले विवाह व्रतबन्ध, सामान्य झैँ–झगडा आपसी समझदारीमा मेलमिलाप गर्दैैआएको बेलौरी नगर भलमन्सा समितिका संयोजक अमरसिंह चौधरीले बताए। पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि पनि भलमन्साहरुले गाउँठाउँमा सचेतनामूलक कार्यक्रम गर्दैआएको उनले बताए।

भलमन्साको अगुवाइमा बेलौरी नगरपालिका वडा २ र ५ मा सडक सरसफाइ कार्य सम्पन्न गरिएको उनले बताए। थारू समुदायले सँदियोदेखि नै भलमन्सा (बरघर) चयन गर्दैआएका छन्। थारु समुदायको सेवा गरेबापत भलमन्साहरूले समुदायबाट लाभ पनि लिने गरेका थारु अगुवाहरू बताउँछन्। समुदायको अवस्था हेरि भलमन्साले वार्षिक रूपमा प्रतिपरिवारबाट १०–१५ किलो धान लिने प्रचलन रहेको बेलौरी भलमन्सा समितिका सम्पर्क व्यक्ती कृष्ण चौधरी बताउछन्।

भलमन्साहरूले समुदायमा झैँ–झगडा, विवाद मिलाउने, सामूहिक निर्माणका कार्यहरू गर्दैआएका उनले बताए। राना समुदायले असार महिनामा नयाँ भलमन्सा चयन गर्दैआएका छन् भने चौधरी समुदायले माघ महिनामा भलमन्सा छनोट गर्दैआएका छन्। नयाँ छनोट भएर आएका २६ जना भलमन्साहरूलाई शुक्रवार दोस्रो पटक प्रमाणपत्र र शुभकामना प्रदान कार्यक्रमको आयोजना गरेको हो।

यसअघि गत फागुन महिनामा बेलौरी नगरपालिकाले पहिलो पटक भलमन्साहरूलाई प्रमाणपत्र प्रदान गरेको थियो। बेलौरी नगर भलमन्सा समितिमा एक सय सात भलमन्सा दर्ता छन्।