मिसन ८४ एमालेले बहुमत हासिल गर्ने अभियान हो –पूर्व मुख्यमन्त्री रावल

शनिबार श्रावण ३२, २०८२/ Saturday 08-16-25
Paschim Today

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन ८४’ अभियान अन्तर्गत संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने लक्ष्य रहेको बताएका छन् ।

शनिबार धनगढीमा नेपाल निजामति कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको संगठन सुदृढीकरण अन्तरक्रिया तथा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै रावलले अभियान सफल बनाउन पार्टीका सबै तहका सदस्य र कमिटी सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिए ।

रावलले घरदैलो अभियान, झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि संकल्प यात्रा लगायतका कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै देशको अर्थतन्त्र सुधारतर्फ उन्मुख भएको दाबी गरे । “अर्थ व्यवस्थाका सूचकांक सकारात्मक बन्दै गएका छन्, मुद्रास्फीति सात प्रतिशतबाट घटेर ३.५ प्रतिशतमा झरेको छ,” उनले भने ।

भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको दाबी गर्दै उनले दोषीलाई कारबाही गरिने स्पष्ट पारे । पार्टीभित्र अराजकता सिर्जना गर्ने र नेतृत्वविरुद्ध गलत प्रचार गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्नेमा पनि उनले जोड दिए ।

उनले एमालेविरुद्ध पुनः संगठित आन्दोलन हुन सक्ने आशंका व्यक्त गर्दै त्यसको सामना गर्न सबै सदस्य एकजुट हुनुपर्ने बताए । साथै, व्यक्तिगत आकांक्षा र साना मुद्दा उचालेर पार्टी फुटाउने प्रवृत्तिलाई रोक्न आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जैसी, निजामति कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रदेश अध्यक्ष महादेब प्रसाद जोशीले कर्मचारीको सरुवा–बढुवा विधि र चक्रीय प्रणालीअनुसार गर्नुपर्नेमा जोड दिएका थिए ।