इमानदारितापूर्वक काम गर्न मन्त्री खड्काको आग्रह

शनिबार श्रावण ३२, २०८२/ Saturday 08-16-25
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेश समाजिक विकासमन्त्री मेघराज खड्काले संविधानमै मौलिक हकका रूपमा रहेको नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्यकर्मीले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । 

नेपाल स्वास्थ्यकर्मी सङ्घ कैलालीको तेस्रो साधरणसभामा मन्त्री खड्काले पेसागत सङ्घ सङ्गठनले राज्यले लगानी गरेर छात्रावृत्तिमा अध्ययन गरेका चिकित्सकलाई सबै भुगोल र क्षेत्रमा सेवा दिने वातावरण बनाउनुपर्ने बताए । 

उनले भने, “सबैले सुगम र ठुला अस्पताल मात्र रोजेपछि दुर्गम र सबै क्षेत्रका नागरिकको मौलिक अधिकारको संरक्षण कसरी गर्छन् रु नेपाल सरकारले आवश्यकताअनुसार खटाएको ठाउँमा सेवा गर्नुपर्छ ।” 

अस्पताल नै तोकेर आउन खोज्ने चिकित्सकले चार घण्टा अस्पतालमा बिताएर बाँकी समय निजी क्लिनिकमा बिताउने उद्देश्य रहेको हुनसक्ने उल्लेख गर्दै मन्त्री खड्काले सबै नागरिकले गुणस्तरीय स्वास्थ्यबाट वञ्चित हुन नदिन तोकिएको समयसम्म स्वास्थ्यकर्मीले सेवा दिनुपर्ने बताए ।

पेसागत हकहितका साथै नागरिकको आधारभुत स्वास्थ्यका विषयमा समेत पेसागत सङ्घ सङ्गठनले भूमिका खेल्नुपर्ने मन्त्री खड्काको भनाइ छ । मन्त्री खड्काले नेपाल सरकारले बनाएको मापदण्डअनुसार क्लिनिक सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको महामन्त्री समेत रहेका मन्त्री खड्काले सबैले लडेर ल्याएको लोकतन्त्रलाई गौरव गर्ने बनाउन पार्टीका सुभेच्छुक पेसागत सङ्घ सङ्गठनले समेत गौरव गर्ने खालको काम गर्नुपर्ने बताए ।

सङ्घका जिल्ला अध्यक्ष कृष्णदेव जोशीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नीति तथा योजना अयोगका सदस्य नृप सुनार, नेपाल स्वास्थ्यकर्मी सङ्घका केन्द्रिय सचिव हर्कबहादुर खड्का, नेपाली कांग्रेस कैलालीका प्रचार विभाग प्रमुख तपेन्द्र भुसाल, घोडाघोडी नगर सभापति बमबहादुर सिंहलगायतले मन्तव्य राखेकाको थिए ।