सुदूरपश्चिममा गौरा पर्वको मुख्य दिन अठ्यावाली मनाइँदै

आइतबार भदौ १५, २०८२/ Sunday 08-31-25
Paschim Today

बैतडी । सुदूरपश्चिमेलीहरुको पर्व गौराको आज मुख्य दिन अठ्यावाली मनाइँदै छ । बिहीबार भाद्र कृष्ण पञ्चमीदेखि सुरु भएको मुख्य पर्व गौरा आज दुर्वाष्टमी (अष्टमी) का दिन अठयावाली मनाई समापन गरिनेछ । 

हिजो बेलुका गौराघरमा भित्र्याएको गौरालाई आज व्रतालु महिलाहरुले गौराखलो (आँगन) मा लगेर पूजा गर्ने चलन रहिआएको आचार्य गणेशदत्त लेखकले बताए । अठ्यावालीमा गौराखलोमा बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ ।

गहुँ, गहत, मास, गुराउँस र केराउ गरेर पाँच प्रकारका अन्नलाई बिरुडा मान्ने प्रचलन छ । हिजो गौरादेवीमा मन्त्रिएर राखिएको दुबधागो (विशेष प्रकारको धागो) लाई व्रतालु महिलाहरुले आजै धारण गर्नेछन् । व्रतालु महिलाले दुबधागो धारण गरेपछि मात्रै भोजन गर्छन् ।

गौरा खलोमा व्रतालु महिलाले सामुहिक रुपमा गौरामा गाइने फाग र सगुन (अठयावाली) गाउँदै गौरालाई बिरुडाले पूजाआजा गर्ने चलन छ । व्रतालुले गौराको पूजा गरिसकेपछि प्रसादका रुपमा रहेको सोही बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी, आफन्तजनको टाउको पुज्ने चलन छ । लामो आयु, आरोग्य, धनधान्य प्राप्तिको कामनासहित टाउको पुज्ने चलन रही आएको आचार्य लेखकले बताए ।

अठ्यावालीपछि पुरुषहरुले ठाउँ परिवेश अनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रहेको छ । यो खेलमा शिव पार्वतीको गाथा गाउने आचार्य लेखकले बताए ।

सुदूरपश्चिमतिर बिदेसिएकाहरु यो पर्वमा घर फर्किने, छोरीबहिनीहरु माइत आउने चलन छ । पछिल्लो समय धेरैले यसलाई भेटघाटको पर्व पनि भन्ने गरेका छन् । गौरा पर्वको अवसरमा सुदूरपचिम प्रदेशमा आज र भोलि सार्वजनिक विदा दिइएको छ ।