टेक्सासको ड्यालसमा धुमधामसंग मनाईयो गौरा

सोमबार भदौ १६, २०८२/ Monday 09-01-25
Paschim Today

टेक्सास,(अमेरिका), ३१ अगष्ट ।
अमेरिकाको टेक्सासको युलेसस्थित पशुपतीनाथ बुद्ध मन्दिरमा आईतवार गौरा पर्व धुमधामसंग मनाईएको छ ।

सुदूर पश्चिम नेपाली समाज टेक्सासको आयोजनामा ड्यालसस्थित पशुपतीनाथ बुद्ध मन्दिरमा गौरा पर्व धुमधामसंग मनाईएको हो । 

गौरा पर्वका अवसरमा गौरी पूजा, दुबधागो अभिषेक, गौरादेवी र महेश्वर नृत्य, प्रसाद फट्काउने, गौरा सेलाउने लगायतका कार्यहरु बिधिवत रुपमा सम्पन्न गरिए । 

कार्यक्रममा सुदूर पश्चिमकी चर्चित गायिका रेखा जोशी र नेपाल आईडल रवि ओडले देउडा गाएका थिए । जोशीले सुन हौ कि चाँदी हौ बोलको गीत गाएर सबैलाई मन्त्रमुग्ध पारिन् ।

नेपाल आईडल ओडले भुईचम्फा, राई झुमा र चल गोविन्दे लगायतका गीतहरु गाउदा सहभागीहरुले गाएर साथ दिए ।गौरा पर्वका अवसरमा उपस्थित सुदूर पश्चिमेलीसंगै अन्य समुदायका व्यक्तिहरुले समेत देउडा खेलेर भरपुर मनोरञ्जन लिए ।

कार्यक्रममा बालबालिकाहरुले सुदूरपश्चिमको पहिरन तथा भेषभुषामा नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

गौरा पर्वका अवसरमा आयोजित कार्यक्रममा सुदूर पश्चिम समाजका तर्फबाट देउडा गायक रेखा जोशी र रवि ओड, गैर आवासीय नेपाली संघ टेक्सासको महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित दीपा बोहरा ऐर र सचिवमा निर्वाचित लता सुवेदीलाई सम्मान गरिएको थियो ।

सुदूर पश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गुञ्जन भण्डारीले गरेकी थिईन् ।

समाजका अध्यक्ष केसीले गौरा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी र कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा समाजकी बोर्ड सदस्य दीपा बोहरा ऐरले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष सीता सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेकी थिईन् । 

कार्यक्रममा समाजका पूर्व अध्यक्ष भक्त बहादुर भण्डारी र प्रेम शाही, नेपाली समाज टेक्सासका महासचिव बिजय भुषाल, एनआरएनएका अगुवाहरु र सुदूर पश्चिमेलीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।