कुवेतमा ४० हजार नेपाली महिला बेचिएको भन्दै सरकारको ध्यानाकर्षण

सोमबार भदौ १६, २०८२/ Monday 09-01-25
Paschim Today

काठमाडौँ। राष्ट्रिय सभाका सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत झन्डै ४० हजार नेपाली महिलाहरूलाई कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्टले मानव बेचबिखनको यो घटनामा अध्यागमन विभागका कर्मचारीसमेत संलग्न रहेको दाबी गरे। उनले भने, "भिजिट भिसामा कुवेत जाने महिलाहरूले अध्यागमन विभागका कर्मचारीहरूलाई एक लाख रुपैयाँ बुझाउने गरेको पाइएको छ।"

सांसद विष्टले ती महिलाहरू अहिले कुवेतमा एउटै घरमा बन्धकको रूपमा रहेको र उद्धारका लागि आग्रह गरिरहेको बताए। उनले सरकार र गृह मन्त्रालयले यसबारेमा सदनमा आएर स्पष्ट जानकारी दिनुपर्ने माग गर्दै सरकारको जवाफ माग गरेका छन्।