६ वर्षअघि सम्झौता भएको चौकीडाँडा-फल्टुडे सडक अझै अलपत्र , वडाअध्यक्षहरु सडकमै कार्यालय सञ्चालनमा

बिहीबार भदौ १९, २०८२/ Thursday 09-04-25
Paschim Today

 

अत्तरिया । प्रदेश गौरवको आयोजना मानिएको चौकीडाँडा–फल्टुडे सडक निर्माण ६ वर्षसम्म पनि पूरा नभएपछि स्थानीय वडाअध्यक्षहरूले आन्दोलनको नयाँ शैली अपनाएका छन्। ठेकेदार कम्पनीको लगातार लापरबाहीले काम अलपत्र परेपछि गोदावरी नगरपालिका–३, १०, ११ र १२ ले संयुक्त रूपमा सडकमै वडा कार्यालय सञ्चालन सुरु गरेका छन्। 

गोदावरी–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले ६ वर्षअघि सम्झौता भए पनि थेगिङ र तेडी निर्माण सेवाले सम्झौता अनुसार काम नगरेपछि सडक निर्माण स्थगित भएको बताए। “ठेकेदार बारम्बार काम सुरु गरेजस्तो गरेर भाग्ने गर्छन्, त्यसैले दबाबका लागि सडकमै कार्यालय सञ्चालन गर्न बाध्य भयौं,” उनले भने।

वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थीले पटकपटक सम्बन्धित निकायमा गुहार गर्दा पनि समस्या समाधान नभएपछि सडकमा उत्रिन बाध्य भएको बताए। उनका अनुसार अधुरो सडकका कारण स्थानीयले आवतजावतदेखि रोजगारीसम्ममा ठुलो समस्या भोगिरहेका छन्।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ४ खण्डमा ठेक्का आह्वान गरिएको सो सडकमा ५ करोडदेखि ६ करोडसम्मका ठेक्का सम्झौता भएका छन्। तर समय–समयमा म्याद थप्दा पनि ठेकेदारले कार्य सम्पन्न गर्ने संकेत देखाएका छैनन्।

३८ किलोमिटर लामो ओलानी–फल्टुडे सडकलाई भीमदत्त राजमार्गको विकल्पका रूपमा छोटो मार्ग मानिएको थियो। तर ६ वर्ष बित्दा पनि साढे ८ किलोमिटर मात्रै कालोपत्रे हुन सकेको छ। स्थानीय वडाअध्यक्षहरूले अब पूर्वाधार विकास कार्यालय घेर्ने र चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।