सरकारी निर्णयपछि २६ मध्ये ८ सामाजिक सञ्जाल कम्पनी सरकारको सम्पर्कमा

शुक्रबार भदौ २०, २०८२/ Friday 09-05-25
Paschim Today

काठ्माण्डौँ- सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि २६ मध्ये ८ वटा कम्पनी सम्पर्कमा आएका छन् ।  

बिहीबारको सरकारी निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालहरु निष्कृय बनाउन इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेपछि ८ वटा कम्पनी सरकारको सम्पर्कमा आएका हुन् ।  

बिहीबार नै फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी मेटाले सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको थियो । यस्तै हाम्रो पात्रोले पनि बिहीबार नै दर्ता प्रक्रिया सुरु गरेको छ ।  

अर्बपति एलन मस्कको ट्वीटर (एक्स) पनि शुक्रबार दर्ता प्रक्रियामा आएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याट पनि सम्पर्कमा आएको छ ।  

यसैबीच, नेपालमा अत्यधिक प्रयोगमा रहेको युट्युब अझै सम्पर्कमा आएको छैन । प्रवक्ता ठाकुरले निष्कृय बनाउने प्रक्रिया सुरु भएकाले अब पनि सम्पर्कमा नआउने सबै सामाजिक सञ्जालहरु बन्द हुने बताए ।  

स्न्याप च्याट, लिंक्ड इन, क्लब हाउस, इमो, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, जालो र सोल सम्पर्कमा आएका छैनन् ।