बालबिज्याइँका कसुरमा सजाय सुनाइएका नाबालिकाहरू राखिने नेपालको एक मात्र बाल सुधार गृहभित्रका एक्ला तथा उराठलाग्दा दिनहरू

सुनिता न्यौपाने
काठमाडौं, नेपाल — आफूभन्दा १० वर्ष जेठो त्यो पुरुषसँग भेट हुँदा विश्वकर्मा १३ वर्षकी मात्र थिइन्। दीपावलीको झिलिमिली र शरद् ऋतुको उमङ्गले वातावरणमा छुट्टै उत्साह थियो। उसले एउटा चुरोट सल्कायो र उनीहरूले फोक्सोसम्मै पुग्ने गरी पालैपालो त्यसको लामो–लामो सर्को ताने।
त्यसको केही दिनपछि नै उसले राति सँगै बसौँ भन्यो। आफ्नो परिचय खुल्दा आफूमाथि लाञ्छना लाग्ने डरले हामीलाई आफ्नो थर मात्र प्रयोग गरिदिन अनुरोध गरेकी विश्वकर्माको मानसपटलमा विगतका स्मृतिहरू ताजा हुन्छन्। आफूलाई त्यस बेला केटासँग राति सँगै बस्दा के हुन्छ भन्ने कुरा थाहा नभए पनि आफूले उसको प्रस्तावलाई सहजै स्वीकार गरेको उनी बताउँछिन्। उनको कलिलो मस्तिष्कमा केटा र सेक्स जस्ता ठुला-ठुला रहस्यहरूको पर्दार्पण भइसकेको थिएन। त्यस बेलाका उनका रहरहरू अरू नै केही थिए।
उनी सम्झिन्छिन्, “मलाई नयाँ जिन्स पाइन्ट र टिसर्टमा बास्नादार सुगन्ध छरेर हिँड्न मन लाग्थ्यो।”
त्यो रात सँगै बिताएपछि त्यो पुरुष अर्कै जिल्लामा गयो र यसबिचमा उनीहरूको कुनै सम्पर्क भएन।
गर्भ रहेको तीन महिनापछि मात्र उनले आफू गर्भवती भएको हेक्का पाइन्। आमा, दिदीहरू र गाउँलेहरूले गाली गर्छन् भन्ने डरले गर्दा उनले यो कुरा आफैँभित्र दबाएर राखिन्। तर यस्तो कुरा लामो समयसम्म कहाँ लुक्न सक्थ्यो र! एक कान दुई कान हुँदै यो कुरा गाउँभरि नै फैलियो। मान्छेहरूले उनको खिसिट्युरी गर्न थाले। झन् बच्चा जन्मेपछि त असह्य नै भयो।
अविवाहित नाबालिकाले बच्चा जनाएको कुरा डढेलो जस्तै तीव्र गतिमा फैलने उनी बताउँछिन्।
छोरी जन्मेको झन्डै दुई हप्तापछि उनले छिमेकीहरूलाई बच्चा हरायो भनिन्। छिमेकीहरूले बच्चा खोज्न थाले। खोज्दै जाँदा उनीहरूले बच्चा सेप्टिक ट्याङ्कीमा तैरिरहेको देखे र प्रहरीलाई तुरुन्तै खबर गरिहाले।
विश्वकर्मालाई हत्कडी लगाएर लगियो।
‘बिल्कुलै एक्ली’
२०२४ को अप्रिल महिनामा दाङ जिल्ला अदालतले विश्वकर्मालाई १६ वर्ष ६ महिनासम्म भक्तपुर बाल सुधार गृहमा हिरासतमा राख्ने सजाय सुनायो। काठमाडौं नजिकै सानोठिमीमा रहेको यो सुधार गृह नाबालिकालाई हिरासतमा राखिने नेपालको एक मात्र सुधार केन्द्र हो।
अहिले १८ वर्षकी विश्वकर्मालाई त्यस बेला कसैले आफ्नो लागि बोलिदिएको भए वा आफ्नो रक्षा गर्नका निम्ति आफूसँग पर्याप्त ज्ञान भएको भए हुन्थ्यो भन्ने लाग्छ।
उनी भन्छन्, “म बिल्कुलै एक्ली थिएँ।”
पछिल्लो एक दशकमा १८ वर्षभन्दा मुनिका उनीसमेत २० जनाले भ्रूणहत्या वा शिशु हत्याको आरोपमा यो बाल सुधार गृहमा यस्तो सजाय भोगिरहेका छन्। वयस्क सरह मुद्दा चलाइएका उनीहरू सबैलाई वयस्क सरह नै सजाय सुनाइएको छ। तीमध्ये चार जनाले आफूलाई सुनाइएको सजायविरुद्ध अपिल गरेर छुटेका छन् भने बाँकी यही सुधार गृहमै छन्। केहीलाई २० वर्षसम्मको सजाय सुनाइएको छ भने केहीलाई जन्मकैदकै सजाय सुनाइएको छ।
बाल अधिकारकर्मीहरूका अनुसार पहिलो कुरा त यी केटीहरूलाई यहाँ ल्याइनु नै हुँदैनथ्यो। सार्वजनिक प्रतिरक्षक समाज नेपालका कार्यकारी निर्देशक तथा नेपाल बार एसोसिएसनका उपाध्यक्ष अजय शङ्कर झाका अनुसार खास प्रश्न भनेको “उनीहरूले यस्ता कार्य किन गर्छन्” भन्ने हो।
हताशको निर्णय
भ्रूणहत्या वा शिशुहत्याको कसुरमा सजाय काटिरहेका विश्वकर्मा जस्ता सबै केटी तथा महिलाहरू नेपालको दुर्गम तथा ग्रामीण क्षेत्रका छन्। यी क्षेत्रमा चरम गरिबीको समस्या छ भने स्कुले पाठ्यक्रममा औपचारिक रूपमा समावेश गरिएको भए पनि प्रजनन स्वास्थ्य शिक्षाको उचित पहुँच छैन।
नाबालिकाहरूलाई यौन सम्पर्क राख्न र गर्भाधारण गर्न निषेधित भए पनि यस्ता घटना घटिरहने गर्छन्। २०२२ को नेपालको जनसांख्यिकीय तथा स्वास्थ्य सर्वेक्षणअनुसार १५ देखि १९ वर्षका झन्डै १४% किशोरीहरू गर्भवती भएका छन्। सर्वेक्षणका अनुसार किशोरावस्थामा गर्भवती हुने समस्या गरिब घरपरिवारमा झन् धेरै देखिन्छ।
खास गरी नेपालको ग्रामीण समाजमा यस्तो गर्भधारणलाई एकदमै हेयकर मानिन्छ र यसले गर्दा विश्वकर्मा जस्ता किशोरीहरू कहिलेकाहीँ हताशमा निर्णय लिन पुग्छन्।
अपिलपश्चात् रिहा भएका चार जना केटीलाई मद्दत गरेका काठमाडौंस्थित अधिवक्ता रवीन्द्र भट्टाराई भन्छन्, “महिलाहरू लोकलाजको कारणले यस्तो गर्छन्।” बाल सुधार गृहमा पाँचदेखि छ वर्ष बिताएपछि उनीहरू सबै जना रिहा भएका थिए।
लज्जाबोधले गर्दा विश्वकर्माको जीवन तहसनहस भयो। आफू गर्भवती भएको सबैले थाहा पाएपछि आफू घरमा बस्न नसकेको उनी बताउँछिन्। त्यसपछि उनले ढाँटेर एक जना साथीको घरमा बस्ने प्रयास गरिन् तर साथीका आमाबुवाले उनको पेटमा बच्चा रहेको सुइँको पाउने बित्तिकै उनलाई त्यो घरबाट पनि निकालिदिए। त्यसपछि आफूलाई कसैले नदेखोस् भनेर उनी दिनभर जङ्गलमा गएर बस्ने गर्थिन्। अँध्यारो छिप्पिँदै गएपछि मात्र उनी सडकमा निस्किन्थिन् र बाटोमा भेटिएका खानेकुराहरू खान्थिन् अनि राति कसैको आँगनमा गएर सुत्थिन्।
त्यही बेला उनलाई रेडियोमा आउने एउटा विज्ञापनको याद आयो। उक्त विज्ञापनमा गर्भावस्थामा चुरोट र तमाखु पिउनाले बच्चालाई असर गर्ने र गर्भपात हुने चेतावनी दिइन्थ्यो। हताश भएर उनले गर्भावस्था समाप्त पार्ने आशामा हरेक दिन अनगिन्ती चुरोट र गाँजा पिउन थालिन्। तर उनको यो विधि असफल भयो।
आठ महिना जतिको गर्भ भएपछि उनकी आमाले उनलाई फेला पारेर घर फिर्ता ल्याइन्। तर पेट बोकेको भन्दै अझै गाली गरिरहन्थिन्। फूल जस्तो बच्चा जन्मिएपछि पनि घरमा उनीप्रतिको घृणा र तिरस्कार रोकिएन। छिमेकीहरूले उनकी छोरीलाई “बाउविनाको बच्चा भने।” उनलाई सबैले छिछि र दुरदुर गरे। उनको न्वारनमा नाम राख्नका लागि पण्डित समेत आउन मानेनन्।
आफ्नो बच्चालाई सेप्टिक ट्याङ्ककीमा फाल्दा आफूलाई बच्चाप्रति कुनै भावनात्मक नाता महसुस नभएको उनी बताउँछिन्।
सुनिता न्यौपाने, जिपिजे नेपाल
बाल सुधार केन्द्रमा रहेको पुस्तकालयमा पर्दा मिलाउँदै विश्वकर्मा। क्षमताभन्दा बढी केटीहरू राखिएको यो सुधार गृहमा अहिले उनीसहित ४० जनालाई राखिएको छ। यहाँ सीमित स्रोतको उपलब्धता र कलंकले गर्दा उनीहरूले पहिलेदेखि सामना गरिरहेको ट्रमा झन् धेरै थपिएको पैरवीकर्ताहरू बताउँछन्।
‘दोषी कानुन’
यस्ता किशोरीहरूले यस्ता कदम चाल्नुपछाडि समाजले लगाउने लाञ्छना मुख्य कारण भए पनि यसमा “कानुन पनि दोषी” रहेको अधिवक्ता भट्टराईको तर्क छ।
कानुनले १८ वर्षभन्दा कम उमेरका बालिकासँग यौन सम्पर्क राख्न निषेध गरेको भए पनि यौन दुर्व्यवहारका कारण जन्मेको शिशुको हत्या गर्ने किशोरीमाथि मुद्दा चलाउँदा भने कानुनले समान दृष्टिकोणबाट नहेर्ने भट्टराई बताउँछन्।
उनी भन्छन्, “जसको कारणले गर्भवती भए त्यो पुरुषलाई कारबाही गर्नु पर्छ। बालबालिकाको मुद्दालाई कसुरको रूपमा स्थापित गरेर सजाय दिनु कानुन प्रतिकूल कुरा हो।”
बलात्कारमा परेका युवतीहरू नेपालमा कानुनी रूपमै गर्भपतन गराउन सक्छन्। नेपालमा सन् २००२ देखि अभिभावकको सहमति लिएर यस्तो विशेष परिस्थितिमा गर्भपतन गर्न पाइने व्यवस्था गरिएको छ। तर यो कानुन दुविधापूर्ण छ। सन् २०१७ को फौजदारी संहिताअनुसार बलात्कारमा परेकी महिलाका हकमा १८ हप्तासम्मको अवस्थामा गर्भपतन गर्न पाइन्छ भने २०१८ को ऐन अनुसार २८ हप्तासम्म पाइन्छ।
त्यस्तै गर्भपतन सेवाको पहुँचमा पनि समस्या छ। २०२१ को स्वास्थ्य केन्द्रसम्बन्धी सर्वेक्षणअनुसार नेपालको ग्रामीण भेगका झन्डै १९% स्वास्थ्य केन्द्रमा मात्र गर्भपतनको सेवा उपलब्ध छ।
तर विश्वकर्माको जस्ता केही दुर्गम गाउँहरूमा कानुनी रूपमा गर्भपतन गर्न पाउने समय छिटै गुज्रन सक्छ। गर्भपतन गर्ने विकल्पका बारेमा अधिकांश किशोरीका साथै विवाहित महिलाहरूलाई समेत थाहा हुँदैन। थाहा भएकाहरू पनि अधिकांशले यस्तो सेवा लिँदैनन्।
स्त्री रोग तथा प्रसूति विशेषज्ञ किर्तीपाल सुवेदीका अनुसार उनीहरूलाई मान्छेले आफू गर्भवती भएको थाहा पाउँदा मात्र नभएर आफू अस्पतालमै गएको देखे भने पनि के भन्लान् र कुरा काट्लान् भन्ने डर हुन्छ।
उनी भन्छन्, “जटिलताका बिच केन्द्रसम्म पुग्दा उनीहरूको गर्भ धेरै महिनाको भइसकेको हुन्छ। त्यति बेलासम्म ढिला भइहाल्छ।”
अप्रिल २०१९ देखि डिसेम्बर २०२० सम्म सङ्कलन गरिएको डेटाअनुसार नेपालका २२ वटा साइटमा गर्भपतन गर्न खोज्ने १८३५ जना महिलामध्ये झन्डै ७३% महिला स्वास्थ्य केन्द्र पुग्दा उनीहरूको गर्भ १० हप्ताभन्दा बढी भइसकेको हुने देखिएको छ।
विश्वकर्माले गर्भपतन गर्न खोज्दा उनको गर्भ ६ महिनाको भइसकेको थियो। त्यसपछि बल्ल उनले आफ्नो प्रेमीको नयाँ नम्बर फेला पारिन् र फोन गरिन्। उसले बारम्बार आफ्नो बच्चा नभएको दाबी गर्यो र गर्भपतन गर्ने सल्लाह दियो। उनले पनि हुन्छ भनिन्। आफूलाई कसैले नचिनोस् भनेर उनीहरू गोप्य रूपमा आफ्नो जिल्लाभन्दा ८५ किलोमिटर पर रहेको एउटा क्लिनिकमा पुगे। तर त्यहाँ पुग्दा गर्भपतनका लागि एकदमै ढिला भइसकेको बताउँदै डाक्टरहरूले उनीहरूलाई फिर्ता पठाए।
सुनिता न्यौपाने, जिपिजे नेपाल
बाल सुधार केन्द्रको ताल्चा लगाइएको गेटभित्र हिँडिरहेका विश्वकर्मा (दायाँ) र अन्य केटीहरू। बाल अधिकारका पैरवीकर्ताहरू शिशु हत्याको कसुरमा वयस्कलाई जस्तो सजाय सुनाइएकी विश्वकर्मा जस्ता केटीहरूलाई पहिलो कुरा त हिरासतमा पठाउनै नहुने बताउँछन्।
न्यूनतम सजाय
बाल अधिकारवादी अधिवक्ताहरू यी मुद्दाका न्यायिक प्रक्रियामा कानुनले बालबालिकालाई प्रदान गर्ने संरक्षणहरू समेत प्रदान नगरिएको बताउँछन्। उदाहरणका लागि, नेपालले नाबालिगहरू संलग्न रहेका मुद्दाहरू हेर्न भनेर एक वर्षअघि बाल प्रणाली ल्याएको थियो तर त्यो अझै पनि निष्क्रिय छ। नेपाल बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घको महासन्धिको हस्ताक्षरकर्ता पनि हो र यो महासन्धिअनुसार अन्तिम विकल्पका रूपमा मात्र नाबालिगलाई हिरासतमा राखिनु पर्ने र राख्नै परे पनि न्यूनतम समयसम्म मात्र राख्नु पर्ने हुन्छ।
उदाहरणका लागि, २०१८ को बालबालिका ऐनले विश्वकर्मालाई कानुनी प्रतिनिधित्व प्राप्त गर्ने र निष्पक्ष रूपमा समयमै न्यायिक प्रक्रियाको टुङ्गो लगाइसक्नु पर्ने अधिकार दिँदा दिँदै पनि उनले २१ दिनसम्म पर्खनु पर्यो जुन ऐन विपरीत छ। उनलाई वकिल, परिवारका सदस्य वा के भइरहेको छ भन्ने कुरा व्याख्या गरिदिने कुनै पनि व्यक्ति नराखिकनै सोधपुछ गरिएको थियो।
“त्यो बेला मलाई अलिकति दया-मायाको आँखाले हेर्ने एक जना पनि भएनन्,” उनी भन्छिन्। “मेरो लागि कसले नै बोलिदिन्थ्यो र?”
मुद्दा चल्नुअघि नै विश्वकर्माले आफ्नो बच्चालाई सेप्टिक ट्याङ्कीमा फालेको कुरा स्वीकार गरिन्।
केन्द्रीय बाल न्याय समितिको सचिवालयका उप-सचिव बिमल रेग्मी नाबालिगहरूलाई उनीहरूको उमेर र कानुनी व्यवस्थाअनुसार नै मुद्दा चलाइने गरेको बताउँछन्। अदालतले बालबालिकालाई लामो समयको सजाय सुनाएका खण्डमा “हामीसँग उनीहरूलाई बाल सुधार गृहमा राख्ने बाहेक अरू कुनै विकल्प हुँदैन।”
यसैबिच केही पैरवी समूहहरूले भने यो व्यवस्थामा परिवर्तन ल्याउनका लागि पहल गइरहेका छन्। फोरम फर विमेन, ल एण्ड डेभलपमेन्टले २०२२ को मार्च महिनामा नेपालमा गर्भपतनलाई पूर्ण रूपमा वैध बनाउन र फौजदारी कसुर नमान्न अनुरोध गर्दै सर्वोच्च अदालतमा रिट हालेको थियो। यो रिटको पक्षमा फैसला भएमा केही गम्भीर अवस्थामा अहिलेको २८ हप्ते समयसीमा पूरा भएपछि पनि गर्भपतन गर्न पाइने छ।
उक्त गैरसरकारी संस्थामा आबद्ध अधिवक्ता नविन कुमार श्रेष्ठका अनुसार यो रिट अनुमोदन भएमा महिला तथा किशोरीहरूलाई मद्दत लिन सहज हुन्छ। त्यसपछि उनीहरूले आफ्नो अवस्थाबाट बाहिर आउनका लागि धेरै विकल्पहरू पाउने छन्।
संसदमा बालबालिका ऐन संशोधन गर्ने विधेयक पनि छलफलमा छ। उक्त विधेयकमा बालबालिकालाई अधिकतम ७ वर्षभन्दा बढी सजाय सुनाउन नपाउने प्रावधानका साथै अन्य कुराहरू पनि प्रस्ताव गरिएको छ।
सुनिता न्यौपाने, जिपिजे नेपाल
१३ वर्षको उमेरमा शिशु हत्याको दोषमा १६ वर्षभन्दा बढी समयको सजाय पाएकी विश्वकर्मा अहिले धागोमा रङ्गीन मोतीहरू उनेर माला बनाउँदै दिन बिताउँछिन्। एक्लो तथा लामो बन्दी जीवनमा उनलाई यसरी माला बुन्दा समय कटाउन र मन भुलाउन सजिलो हुन्छ। उनको हातमा कुँदिएको हँसिया आकारको चन्द्रमा र ताराहरूको ट्याटू मार्गदर्शन आशाको प्रतीक हो।
‘आचरण सुधारका लागि प्रोत्साहनको कमी’
आजकल विश्वकर्माको अधिकांश समय सुधार गृहको मधुरो कोठामा बसेर मालाका स-साना दानाहरूलाई धागोमा छिराउँदैमा बित्छ। रातको समयमा आफूलाई एक्लोपनले सताउने उनी बताउँछिन्।
देशका अधिकांश बाल सुधार गृहमा क्षमताभन्दा दुईदेखि चार गुणा बन्दीहरू राखिएका छन् र यसले गर्दा हिंसा भड्किने, भाग्न खोज्ने र अन्य उच्च जोखिमयुक्त गतिविधिहरू हुने गर्छन्। जस्तै यो बाल सुधार गृह पनि समस्याहरूले भरिएको छ। एक दर्जन केटीहरूलाई एउटा सानो कोठामा राखिन्छ। यो सुधार गृहमा जम्मा १० जना मात्र राख्ने क्षमता भए पनि यहाँ झन्डै ४० जना केटीहरू राखिएको शङ्कर बताउँछन्। अर्को समस्या भनेको उनीहरूलाई अहिले १८ वर्षकी विश्वकर्मालाई जस्तै वस्यक भएपछि पनि त्यहीँ नै राखिन्छ। केही केटीहरू २६ वर्ष भइसकेका छन् भने केही १४ वर्षका पनि छन्।
बालबालिकासम्बन्धी ऐनअनुसार राज्यले खेल मैदान, शैक्षिक सुविधा र स्वास्थ्य सेवा जस्ता आधारभूत पूर्वाधारको व्यवस्था गर्नु पर्ने भए पनि यहाँ ती पूर्वाधारहरूको कमी छ। सुधार गृहको हाताभित्र एउटा विद्यालय पनि छ तर सोही हाताभित्र रहेको केटाहरू मात्र राखिने अर्को छुट्टै सुधार गृहका केटाहरू मात्र त्यहाँ पढ्न पाउँछन्। व्यवस्थापनले केटा र केटीहरूलाई एकै ठाउँमा मिसाएर राख्न नचाहेकाले त्यसो गरिएको नाबालिका सुधार गृहका सामाजिक कार्यकर्ता प्रबिन सिलाकार बताउँछन्।
यस्तो प्रकारको वातावरण बालबालिकाका लागि अनुकूल नहुने र उनीहरूमा दीर्घकालीन असर गर्ने सार्वजनिक प्रतिरक्षक समाजका झा बताउँछन्। झा भन्छन्, “यहाँ आचरण सुधारका लागि प्रोत्साहनको एकदमै कमी छ”।
उनीहरूलाई राम्रो वातावरण प्रदान गर्न नसक्नुको सबैभन्दा ठुलो कारण भनेको पैसाको कमी भएको रेग्मी बताउँछन्।
विश्वकर्मा अहिलेका लागि आफ्नो सजाय कट्दै जाओस् भन्ने पर्खाइमा छिन्। आफ्नो परिवारका कसैले पनि आफूलाई सुधार गृहमा भेट्न नआएको र फोनसमेत नगरेको उनी बताउँछिन्।
“म बर्षौँदेखि यसरी नै बसिरहेकी छु र मलाई थाहा छैन मैले अझ कति वर्षसम यसरी झेल्न सक्छु,” उनी भन्छिन्।
(ग्लोवल प्रेस जर्नलमा कार्यरत सुनिता न्यौपाने नेपालको काठमाडौंस्थित रिपोर्टर-इन रेसिडेन्स हुन् । )
तपाईको प्रतिक्रिया