धनगढीबाट पोखरा जादै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, २० घाईते

शनिबार असोज १८, २०८२/ Saturday 10-04-25
Paschim Today

धनगढी, १८ असोज ।

धनगढीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९०७ नम्बरको यात्रुबाहक बस शनिबार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका ६० वर्षीय गणेश शाही रहेका छन् ।

दुर्घटनामा परेकी कैलालीको कैलारी गाउँपालिका–१ की २१ वर्षीया सरस्वती चौधरीको अवस्था गम्भीर छ । दुईटै खुट्टामा चोट लागेका कंचनपुर पुनर्वास नगरपालिका–६ का ३२ वर्षीय बिप्लव पोख्रेल लाई उपचारका लागि लखनउ रेफर गरिएको छ ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ हसनपुरका २० वर्षीय सुशिल भट्ट, कंचनपुर पुनर्वास नगरपालिका–८ की २७ वर्षीया अस्मिता भट्टराई ,३४ वर्षीया खडानन्द शर्मा, पुनर्वास–६ की २६ वर्षीया अन्जना बिश्वकर्मा र उनकी ५ वर्षीया छोरी एलियन बिश्वकर्मा, सोही ठाउँ बस्ने ६० वर्षीया लक्ष्मी बिश्वकर्मा, धनगढी उपमहानगरपालिका–१ का ३४ वर्षीय बिधान भण्डारी घाईते भएका छन् ।

दुर्घटनामा परी घाईते भएका धनगढी–५ तारानगरका ३२ वर्षीय मनिस श्रेष्ठ, उनकी पत्नी ईन्दु, छ वर्षीया छोरी प्रान्सीको नवजीवन अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा परी घाईते भएका डोटी जोरायल गाउँपालिका–१ का २४ वर्षीय घनश्याम ओझा, २१ वर्षीय पारस ओझा, धनगढी–५ हसनपुरकी ३२ वर्षीया प्रिंयका श्रेष्ठ, कास्की पोखरा महानगरपालिका–१६ का २१ वर्षीय सुनिल परियार र सोही ठाउँकी ४५ वर्षीया मन्जु परियार, पोखरा–१६ का २५ वर्षीय प्रजोल पहाडी, कंचनपुर बेलौरी नगरपालिका–३ की २२ वर्षीया सबिना रोकायाको निसर्ग अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर र १९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक प्रहरीका अनुसार स्कुटरलाई जोगाउन बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहको कमाण्डमा २५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

दुर्घटनामा घाईते भएका बसका सह चालक स्याङ्जा फेदीखोला गाउँपालिका–१ का ३० वर्षीय बुद्ध गुरुङलाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार भएका छन् ।