अविरल वर्षापछि देशभरीको जनजीवन प्रभावित, बिभिन्न राजमार्ग अवरुद्ध

काठमाण्डौं, १८ असोज ।
शुक्रवार रातिदेखि परेको अविरलका कारण देश भरीको जनजीवन प्रभावित भएको छ । डुबान र बाढीबाट सबैभन्दा बढि काठमाण्डौं उपत्यका प्रभावित भएको छ ।
प्रधानमन्त्री सुशिला कार्कीले भिडियो सन्देश जारी गर्दै देशवासीलार्य सुरक्षित र सावधानी अपनाउन आग्रह गरेकी छन् ।
पत्रकारहरुसंगको कुराकानीमा विपद्मा मानवीय क्षति शून्य हुने गरी काम गर्न निर्देशन दिएका गृहमन्त्री ओमप्रकाश अर्यालले भौतिक क्षतिका विवरण आइरहेको जानकारी दिदै मानवीय क्षति शून्य होस् भन्ने उद्देश्यले सरकारले काम गरिरहेको बताए ।
त्यस्तै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई २४ घन्टै कार्यालयमा बस्न निर्देशन निर्देशन दिएको छ ।
गृह मन्त्रालयले उद्धारका लागि हेलिकोप्टर आवश्यक परे तत्काल सम्पर्क गर्न प्रजिअ र सर्वसाधारणलाई आग्रह गरेको छ ।
काठमाडौं उपत्यका आसपासका नदीमा जलसतह बढेपछि उच्च सतर्कता अपनाउन अपिल गृह मन्त्रालयले सम्बन्धित निकायसंगै सर्वसाधारणलाई आग्रह गरेको छ ।
काठमाडौं महानगरपालिकाले बाढीको जोखिममा रहेका बस्तीका मानिसहरूको आश्रयस्थलका लागि ७० वटा विद्यालय तोकेको छ ।
मेयर बालेन्द्र शाहका अनुसार ७० वटा विद्यालयलाई तत्कालका लागि आश्रयस्थलको रूपमा तोकिएकोमा अहिलेसम्म चारवटा विद्यालयमा बाढी प्रभावित परिवारलाई स्थानान्तरण गरिएको छ । प्रभावित बासिन्दा कुलेश्वरस्थित जन विकास विद्यालयमा २५१ जना, त्रिपुरेश्वरस्थित विश्व निकेतनमा ७० जना, गुह्येश्वरीमा ५२ जना, टेकुस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयमा २० जना बसिरहेका छन् ।
वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको हो ।
चितवन प्रशासनले अर्को सूचना जारी नहुँदासम्म आज शनिबार साँझ ६ बजेदेखि चितवन हुँदै अन्य जिल्लामा जाने सडकहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाका गाडीहरू पहिरो र सडकको अवस्था हेरी प्रशासनको समन्वयमा आउजाउ गर्न सक्ने छन् । प्रशासनको यो निर्णयले काठमाण्डौं जाने सडकमा समेत यातायातका साधन सञ्चालनमा रोक लागेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्ड भासिएको छ । उक्त सडक भासिएसँगै रातिको समयमा अत्यावश्यकबाहेक सम्पूर्ण सवारी साधन बन्द गरिएको छ ।
उता बीपी राजमार्ग बन्द भएपछि पुष्पलाल मार्ग हुँदै काठमाडौं प्रवेश गरिरहेका सवारी साधनहरुलाई दोलखाको किर्नेटारमा रोकेको दोलखाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए ।
बीपी राजमार्ग बन्द भएपछि सार्वजनिक सवारी साधनहरु मन्थली-तामाकोसी चरिकोट हुँदै राजधानी जान थालेका थिए ।
अविरल वर्षापछि देशका बिभिन्न राजमार्गअरु अवरुद्ध भएक छन् । अत्यावश्यकीय काम बाहेकका लागि बाहिर ननिस्किन सरकारले सर्वसाधारणसंग आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया