अमेरिकामा विरामीलाई पुनर्जीवन दिईरहेकी डा. शारदा 

शुक्रबार पौष ११, २०८२/ Friday 12-26-25
दीर्घराज उपाध्याय


भनिन्छ, सपना होईन्, रणनीति बदल्ने मान्छेहरु लक्ष्य प्राप्त गर्छन् । त्यसको उदाहरण हुन्, डा.शारदा काफ्ले त्रिपाठी । सपना डाक्टर बन्ने । पढिन्, नर्सिङ । तर छोडिनन्, डाक्टर बन्ने अठोट । हो, उनले सपना होईन् रणनीति बदलिन् । र बनाईन्, नर्सिङलाई लक्ष्य प्राप्तीको बाटो । बनिन्, डाक्टर । बनाईन्, पृथक पहिचान । 

उनी चितवनको भरतपुर –१८ गुञ्जनगरमा जन्मिईन् । भारतीय सेनाबाट अवकाश प्राप्त बुवा किसान थिए । आमा गृहणी । काफ्ले दम्पत्तीका दुई छोरा । तीन छोरी । चौथो उनी । ८ कक्षाभन्दा माथि पढ्न नपाएकी आमाभित्र छोरीलाई धेरै पढाउने ईच्छा थियो । बुवाले प्रवासमा पढाईको महत्व बुझेका थिए । बुवाआमाको त्यही चेतले पाँचैले स्कुल जान पाए । 

उनी पढाईमा अब्बल थिईन् । १५ वर्ष नपुग्दै २०५७ सालमा गुञ्जनगर माविबाट एसएलसी टप   गरिन् । 

त्यसपछि वीरेन्द्र बहुमुखी क्याम्पसमा आईएस्सीमा भर्ना भईन् । प्रथम वर्षको परीक्षा दिईन् । त्यहीबेला चितवनमा कलेज अफ मेडिकल साईन्स सञ्चालनमा आयो । नर्सिङमा आवेदन भरिन् । ४० जनाको कोटा । उनी उत्कृष्ट पाँचमा छानिईन् । जागीरे दाईले पढाईको खर्च बेहोरे । 

२००५ मा उनले नर्सिङको परीक्षा दिईन् । उनी दोस्रो भईन् । नतिजा आउनुअघि नै मेडिकल कलेजमा जागीर पाईसकेकी थिईन् । पछि लिईन, नर्सिङको लाईसेन्स ।

पढ्न । जागीर खान । निर्वाध हिड्डुल गर्न । उनी स्वतन्त्र थिईन् । कुरा काट्नेले भन्थे, काफ्ले कान्छाले छोरीहरुलाई टाउकोमा टेकाएको छ । बुवालाई छु मतलव ।

अष्ट्रेलिया र अमेरिकामा नर्सिङको पढाईपछि डाक्टर बन्न पाउने सुन्थिन् । सोच्थिन्, त्यहाँ जान पाए त डाक्टर बन्थे ।

‘डाक्टर र अमेरिका’ यी शब्द उनको दिमागमा जरो गाढेर बसे । 

२००६ मा डीभी भर्ने समय आयो । दाईले डीभी भर्न सय रुपैया दिए । उनले मःम खाईन् । विश्वास थिएन् । डीभी भरिनन् ।

उनकी साथी थिईन्, कविता । डीभी भर्न कर गरिन् । कविताका दाई नारायणगढमा साईवर चलाउथे । उनी कवितासंगै डीभी भर्न गईन् । दाईले फोटो र जानकारी मागे । निशुल्क भरिदिए । 
२००७ मा डीभीको नतिजा आयो । डीभी प¥यो । उनी दंग । 

नर्सिङको पढाई सकेर काम गरिरहेकी थिईन् । २००६ अक्टोबरमा उनलाई एउटा ईमेल आयो । अपरिचित व्यक्तिको त्यो ईमेल उनलाई भूलबश आएको थियो । पठाउने व्यक्ति थिए, विकास त्रिपाठी । त्यो एउटा साधारण तर सभ्य धन्यवादको इमेल थियो । सुरुमा उनी अलि हिचकिचाईन्, तर केही इमेल आदान–प्रदानपछि त्यो ‘अपरिचितबाट आएको राम्रो इमेल’ बिस्तारै मित्रतामा परिणत भयो । त्यतिबेला इमेल र याहु च्याट नै सम्पर्कका मुख्य माध्यम थिए । समयसँगै उनीहरुको मित्रता गहिरिँदै गयो । र, अन्ततः प्रेममा बदलियो । रोचक कुरा के भने, प्रत्यक्ष भेटघाट नहुदै उनीहरुले विवाह गर्ने निर्णय गरिसकेका थिए । 

काठमाण्डौंमा जागीरे विकास । जर्मनी जाने तयारीमा थिए । उनी नर्सिङको पढाई अघि बढाउन चाहन्थिन् ।  

दुबैले आ–आफ्ना योजना ‘प्याकअप’ गरे । अमेरिका जाने निधो गरे । र, २५ नोभेम्बर २००७  मा काठमाण्डौंमा विवाह गरे । त्यसपछि डीभीको प्रकृया पुरा गरे । 

र, २२ अगष्ट २००८ मा विकाससंगै अमेरिका उडिन् । गन्तव्य थियो, कोलोराडो । त्यहाँ उनका दाईभाउजु थिए । जो स्पोन्सर थिए ।

अमेरिका टेक्दा उनीहरुका साथमा थिए, केही थान सुटकेश । धेरै सपना । थोरै पैसा । र थियो, काकाले नेपालबाट उड्दा दिएको १४ हजार डलर । त्यो रकम केही दिनमै मागेर लगे । बाँकी रह्यो, पाँच सय ।  

डेढ महिना दाईको घरमा विताए । त्योबीचमा जागीर खोजे । उनले फाष्टफुडमा काम पाईन् । विकासले ग्याँस स्टेशनमा ।   

रिसेप्सनको जागीर । उनको अंग्रेजी राम्रो थियो । उनी ड्राईभ थ्रुको अर्डर लिन्थिन् । पारिश्रमिक थियो, सात रुपैया २५ सेण्ट । 

त्यसवर्ष कोलोराडोमा निकै हिउँ प¥यो । उनीहरुले हिउँमा वैवाहिक वर्ष गाँठ मनाए । नेपालमा विकास हरेक महिना विवाहोत्सव मनाउँथे । 

त्यतिबेलासम्म ती आफन्त, जोबाट सहयोगको आस थियो, टाढा भईसकेका थिए । उनीहरु एक्लो थिए । नयाँ ठाउँ । जानकारीको अभाव । भाषागत समस्या । अपार्टमेण्टको बास । भुईको सुताई । दुई वटा ब्ल्यांकेट । ओढ्यो । बिछ्यायो । 

कहाँ जाने ? के गर्ने ? अलमल र अन्यौल । सहयोग गर्ने कम । निरुत्साहित गर्ने बढि । परिवारकै अग्रजबाट बारम्बार भएको निरुत्साहन । अपमान । तिनले ठाडै भन्थे–कमाई धमाई छैन्, नर्सिङका कुरा । कस्ता कस्ताले सकेन् । तेरो श्रीमतीले सक्छ ? 

काँडाले झै घोच्ने । आफन्तका शब्दवाण । उनी निराश हुन्थिन् । विकास भन्थे, म छु नि । विकासको दरो साथ । ‘तिमी सक्छौ’–विकास हौसला भर्थे । 

नारायणी किनारमा हुर्किएकी उनले रोकिन जानेकी थिईनन् । 

साथमा नर्सिङको लाईसेन्स । हातमा सीप । लाईसेन्सको मूल्यांकनको बिधि र बाटो थाह थिएन् । एक वर्ष खेर गयो । जब थाह पाईन्, दिईन् रजिष्टर्ड नर्सको परीक्षा । छ घण्टा लामो परीक्षा । एक घण्टामै पुरा गरिन् । दुई दिन सुत्न सकिनन् । नतिजा आयो । उनी पास भईन् । त्यो खुशीको पल, कसरी बिर्सिन सक्छन् ?  

लगत्तै नर्सिङ होममा काम पाईन् । पारिश्रमिक थियो, २८ डलर प्रति घण्टा । त्यहाँको वातावरण व्यवहार ठिक लागेन् । असह्य भयो । डेढ महिनामै जागीर छोडिन् ।

नजिकैको अर्को नर्सिङ होममा काम पाईन् । पारिश्रमिक ३३ डलर पुग्यो । पद थियो, सुपरभाईजर । त्यहाँ दुई वर्ष काम गरिन् । 

उनले २०११ देखि चेरी क्रिक एक्युट रिह्याव, जुलिया टेम्पल र मानोर केयरमा रजिष्टर्ड नर्सका रुपमा काम गरिन् । सुपरभाईजरको जिम्मेवारी । 

२०११ देखि २०१४ को अवधिमा उनले मेट्रो र अरोरा युनिभर्सिटीबाट एशोसियट डिग्री पुरा गरिन् । साथै स्नातकका लागि सबै प्रि रेक्किजेट कोर्सहरु पुरा गरिन् । २०११ मा उनले पहिलो सन्तान जन्म दिईन् । छोराको स्याहार । पढाई । जागीर । सबै जिम्मेवारी एकसाथ पुरा गरिन् ।

२०१३ देखि २०१७ सम्म क्रिटिकल केयर रजिष्टर्ड नर्सका रुपमा पार्कर एडभेनष्टि हस्पिटलमा काम गरिन् । 

२०१४ मा दोस्रो छोरा जन्मियो । त्यहीबेला शुरु गरेको बीएससी र बीएसएनको पढाई पाँच वर्षमा सकिन् ।

२०१७ देखि २०२१ सम्म रजिष्टर्ड नर्सका रुपमा डेनभर हेल्थ हस्पिटलमा काम गरिन् । 

२०१७ देखि २०२२ को बीचमा एमएसएन, एफएनपी र डीएनपीको पढाई पुरा गरिन् । २०२२ मा तेस्रो सन्तान विआंशालाई जन्म दिईन् ।

अमेरिका आएको १२ वर्षमा उनका हातमा उच्च शिक्षाका तीन डिग्री थिए । र थिए, तीन सन्तान ।

डेनभर हेल्थमा काम गर्दा गर्दै उनले एफएनपीको पढाई पुरा गरिन् । एफएनपीको पढाईले डाक्टर सरह काम त गर्न पाउथिन् । तर डाक्टर लेख्न पाउथिनन् । 

त्यसपछि उनले डाक्टर अफ नर्सिङ प्राक्टिस (डीएनपी) का लागि युनिभर्सिटी अफ कोलोराडोमा आवेदन दिईन । २१ जनाको कोटा । ६६८ को आवेदन । सयजनाको अन्तर्वार्ता । आठ घण्टा लामो अन्तर्वार्ता । हरेक प्रश्नको प्रष्ट जवाफ दिईन् । उनलाई अन्तर्वार्तामा सोधिएको प्रश्न थियो, आगामि पाँच वर्षमा तिम्रो के गर्ने योजना छ । उनले निसंकोच भनिन्, आफ्नै क्लिनिक खोल्ने योजना छ ।

अन्तर्वार्ता लिनेहरु प्रभावित भए । उनी छानिईन् । अन्तर्वार्ता लिने व्यक्तिले भने, तिमी भाग्यमानी भएर छानिएकी होईनौ । तिम्रो क्षमताले यो अवसर पाएकी हौ । 

२०२२ मा उनले डाक्टर अफ नर्सिङ प्राक्टिसको पढाई पुरा गरिन् । र, बन्यो नयाँ परिचय । नामका अगाडि थपियो,डा. । बनिन्, डा. शारदा त्रिपाठी । 

बुवाले सधै सोध्थे, डाक्टर भईस । उनीसंग जवाफ हुन्थेन । भन्थिन्, पढ्दैछु । उनी जुन दिन डाक्टर भईन् । बुवा संसारमा थिएनन् । 

एक मनले सोच्छिन्, म त भाग्यमानी । जे सोचे, त्यो भए । बुवाको ईच्छा पुरा गरे । सम्झिदा पीडा हुन्छ, बुवाले डाक्टर बनेको देख्न पाएनन् ।

अक्टोबर २०१६ मा बुवाको मृत्यु भयो । उनले अन्तिम समयमा भेट्न पाईनन् । जीवनमा केही दुर्लभ घट्नाहरु, जसले उनलाई दुःखाउछ । बुवाको मृत्यु त्यहीमध्ये एक हो । अर्को, जागीर गुमाउदा हताश भईन् । 

सेप्टेम्बर २०२३ मा उनको जागीर गयो । नसोचेको भयो । त्यही घट्नाले उनको जीवनलाई नयाँ मोड दियो ।

सोचिन्, जागीर यस्तै हो । जसको भर हुदैन् । गरिन्, जागीर नखाने प्रण । विकासलाई सुनाईन्, आफ्नै क्लिनिक खोल्छु ।

उता एकहप्ता नबित्दै अस्पतालबाट कल आयो, तिमी काममा फर्किन चाहन्छौ । हामी तिमीलाई फुल टाईम काम दिन्छौ ।

यसको के भर ? उनी क्लिनिक खोल्ने निर्णयमा अडिग रहिन् । 

२३ अक्टोबर २०२३ मा रिभाईभ मेडिकल वेलनेस दर्ता गरिन् । २ फेब्रुअरीमा २०२४ मा क्लिनिक शुरु गरिन् । 

शुरुवाती दिनहरु सुखद थिएनन् । उनी दिनभरी कुर्थिन् । विरामी आउदैनथे । 

छ महिना अत्यन्त निराशाजनक रह्यो । कतिपय हप्ता त विरामी नै देख्न पाईनन् । हार्न उनले जानेकी थिईनन् । हिम्मत र आँट भर्ने विकास थिए । जति विरामी आए । मिठो व्यवहार गरिन् । ध्यान दिएर सुनिन् । उर्जा भरिन् । औषधीसंगै बिरामीलाई आशा दिईन् । त्यही व्यवहारले विज्ञापनको काम ग¥यो । उनले प्रचारका लागि कही जानै परेन् । जति विरामी आए । तिनै प्रचारक बने । तिनैले विरामी पठाउन थाले । केही महिनापछि क्लिनिकमा विरामीको घुईचो लाग्यो ।

२००५ को नोभेम्बरमा उनले ५०० विरामीको उपचार गरिन् । क्लिनिक स्थापना भएयताकै यो सर्वाधिक संख्या हो । योबीचमा सेवा, सुविधा र उपकरण थपिन् । ४० हजार डलरबाट शुरु गरेको वेलनेसमा उनले एक मिलियन बढि लगानी पु¥याईन् ।  

जब निको भएर फर्किदै गरेका विरामीको अनुहारमा खुशी देख्छिन् । उनी त्यसै खुशी हुन्छिन् । बिरामीको धन्यवाद, उनका लागि आशिष हो ।

हुन् पनि उनीकहाँ कुनै विरामीले निराश भएर फर्किनु परेको छैन् । क्रोनिक व्याकपेन । जोर्नीको दुःखाई । चायाँपोतो, चाउरीपन । यी सबैको नेचुरल उपचार गर्छिन् । चीरफार बिनै । बोटोक्स प्रविधिद्धारा अनुहारको चाउरीपना हटाईदिन्छन् । यो एउटा साधारण शल्यक्रिया रहित प्रक्रिया हो

उनका ९० प्रतिशत सेवाग्राही विदेशी हुन् । जटिल शल्यक्रिया, ट्युमर र क्यान्सरका विरामी बाहेक अरुलाई रेफर गरेको अनुभव छैन् ।

चिकित्सक त्यो व्यक्ति हो, जसले औषधी मात्र होईन्, आशा पनि दिन्छ । उनी बिरामीलाई औषधीसंगै आशा दिन्छिन् । त्यही आशाले बिरामीमा आत्मविश्वास जगाउछ । आत्मविश्वासले पुनर्जीवन । 

उनले कति कमाईन् ? त्यो महत्वपूर्ण होईन् । विरामीको सेवाबाट आर्जेको विश्वास र प्रतिष्ठा उनको पूँजी हो । उनको सन्तुष्टिको आधार त्यही हो । 

त्यस्ता केही आफन्त हुन जरुरी छ । जसले जीवनमा संघर्ष गर्न दवावमा पार्छन् । चुनौती दिन्छन् । कमजोर आँक्छन् । सुत्न दिदैनन् । उनी त्यस्ता आफन्तलाई धन्यवाद दिन्छिन् । अवरोधहरु नभए कहाँ थाह हुन्छ, आफूभित्रको प्रतिरोध क्षमता ? 

उनले हिडेको बाटो । उनले गरेको संघर्ष । उनले प्राप्त गरेको सफलता । हरेक मान्छेका लागि प्रेरणादायी छ । लक्ष्य प्राप्तिमा अडिग रहे, बाटो जस्तो सुकै कठिन भएपनि, ढिलोचाँडोको कुरा हो, मान्छे लक्ष्य भेटाउछ । त्यसको उदाहरण उनी हुन् ।