एक लाख बढी विदेशी पर्यटक नेपालमा भित्रिए

मंगलबार जेठ १९, २०८३/ Tuesday 06-02-26
Paschim Today

काठमाडौं : सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। उक्त संख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो। 

बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन्। 

उक्त महिनामा भारतबाट मात्र ४० हजार ७८२ पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै, दोस्रोमा चीनबाट ११ हजार ५१४, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट नौ हजार एक, चौँथोमा बंगलादेशबाट पाँच हजार २९८ र पाँचौँमा संयुक्त अधिराज्यबाट तीन हजार ३७५ पर्यटक नेपाल घुम्न आएका छन्।

यस्तै, क्षेत्रगत रूपमा विश्लेषण गर्दा सबैभन्दा बढी सार्क मुलुकबाट ४७.२ प्रतिशत, अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिका क्षेत्रबाट १०.३ प्रतिशत र अस्ट्रेलिया/न्यूजिल्याण्ड क्षेत्रबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट एक दशमलव पाँच प्रतिशत र अन्य मुलुकबाट ४.५ प्रतिशत विदेशी नेपाल आएका छन्।

पश्चिम एसियाली मुलुकमा देखिएको द्वन्द्वका कारण नेपालको पर्यटनमा केही असर देखिएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको बढ्दो विश्वास र पर्यटकीय गतिविधिका कारण आगामी दिनमा यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।