डडेलधुराकी बन्दनालाई निसर्गको नयाँ जीवन: ३१ लाख ५७ हजारको निःशुल्क उपचार
यशोदा शर्मा,
कैलाली । डडेलधुराकी बन्दना लिम्बुका आमाबुवा अरूको जमिनमा सानो घर बनाई ज्याला मजदुरीको काम गरी परिवार पालिरहेका थिए । आर्थिक अवस्था निकै कमजोर थियो । उनीहरूसँग न त घर थियो न त जमिन । घरबारविहीन उनीहरू जसोतसो दुःख गरी गुजारा चलाइरहेका थिए।
दुई वर्ष अगाडि, २०८१ साउन ३१ गते घर नजिकैको सडकमा बन्दना साइकल सिक्ने क्रममा अचानक लडेर गम्भीर घाइते भइन्। दुर्घटनापछि उनलाई प्रारम्भिक उपचारका लागि डडेलधुरा अस्पताल लगियो। अवस्था निकै गम्भीर रहेकाले थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि त्यही दिन उनलाई एम्बुलेन्स मार्फत निसर्ग हस्पिटल एण्ड रिसर्च प्रा.ली धनगढीमा रिफर गरियो ।
अस्पताल भर्ना भएको भोलिपल्टै उनको पहिलो शल्यक्रिया सम्पन्न गरियो। उपचारका क्रममा बिरामीको स्वास्थ्य अवस्था अनुसार विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा निरन्तर उपचार, सघन नर्सिङ सेवा, फिजियोथेरापी तथा पुनर्स्थापना सेवा मार्फत हालसम्म दुई वटा गेजर तथा माइनर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ।
परिवारले आशा मारिसकेको थियो। तर निसर्गले गरेको उपचारको निरन्तरता, चिकित्सकीय व्यवस्थापन तथा पुनर्स्थापना सेवाको प्रभावका कारण लिम्बुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । आजसम्म आइपुग्दा उनले अस्पतालमा एक वर्ष ११ महिना एक दिन (लगभग दुई वर्ष) उपचाररत रही आफ्नो स्वास्थ्य पुनर्स्थापनाको लामो यात्रा पूरा गरेकी छन् ।
बन्दनाकी आमा धना लिम्बुले भावुक हुँदै आफ्नो छोरीलाई नयाँ जीवन दिएकोमा निसर्ग अस्पताललाई धन्यवाद दिइन् । उनले भनिन्, "निसर्ग हस्पिटलमा आएपछि मैले धेरै माया पाए मेरो छोरीको निःशुल्क उपचार गरिदिनुभयो। त्यसका लागि अस्पताललाई धेरै धन्यवाद"
लामो अवधिको उपचारका क्रममा उल्लेखनीय आर्थिक भार सिर्जना भए पनि बिरामीको पारिवारिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै उपचार पश्चात् बाँकी रहेको ३१ लाख ५७ हजार बराबरको उपचार खर्च निसर्गले पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ । यस निर्णयलाई उदारताको प्रदर्शनका रूपमा नभई स्वास्थ्य सेवाको मानवीय दायित्व, सामाजिक दायित्व तथा सेवामूलक प्रतिबद्धताको अभिव्यक्तिका रूपमा लिएको अस्पतालको भनाइ छ।
अझै पनि अप्ठ्यारो पर्दा बन्दनाको परिवारलाई निसर्ग अस्पतालले सधैँ सहयोग गर्ने निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीका अध्यक्ष तीर्थराज पन्तले बताए । उनले भने, "निसर्गले स्वास्थ्यलाई व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वका रूपमा पनि स्थापित गरेको छ । अझै पनि अप्ठ्यारो पर्दा निसर्ग सधैँ लिम्बुको परिवारको साथमा रहने प्रतिबद्धता पनि जनाउँछु ।"साथै लिम्बुको परिवारको उचित आवासको व्यवस्था तथा अन्य आर्थिक सहयोगका लागि पनि पहल गर्न सम्बन्धित सबैलाई उनले आग्रह समेत गरे।
अस्पतालबाट घर फर्किएपछि लिम्बुको दैनिक जीवनयापन र आवतजावतलाई सहज बनाउन अस्पतालका तर्फबाट एक थान आरामदायी हुलचेयर समेत सहयोग स्वरूप हस्तान्तरण गरिएको जनाइएको छ
भविष्यमा पनि निसर्गले गुणस्तरीय विशेषज्ञ तथा मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताप्रति दृढ हुँदै समाजप्रतिको उत्तरदायित्वलाई निरन्तर आत्मसाथ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
आज (बिहीबार) अस्पतालले बन्दनाको उपचार यात्रा, स्वास्थ्य अवस्था तथा आर्थिक सहयोग अभियान सम्बन्धी मिडिया ब्रिफिङ तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी यस परोपकारी कार्यबारे विस्तृत जानकारी गराएको हो।




2026-08-07-04-45-06.jpeg)

तपाईको प्रतिक्रिया