अपेन सुदूरपश्चिम प्रदेश कमिटी गठन

आइतबार श्रावण १०, २०८३/ Sunday 07-26-26
Paschim Today

धनगढी, कैलाली |
अङ्ग्रेजी शिक्षणको गुणस्तर अभिवृद्धि, संस्थागत विद्यालयहरूको सशक्तीकरण तथा प्रारम्भिक शिक्षाको विकास गर्ने उद्देश्यले एसोसिएसन अफ प्रि-स्कुल एजुकेसन नेपाल (अपेन) को सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्ला कमिटी गठन गरिएको छ। धनगढीस्थित एक स्थानीय क्याफेमा सम्पन्न विशेष भेलामा प्रदेश तथा जिल्लाका संस्थागत विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा संस्थाको भावी कार्ययोजना, संगठन विस्तार, सदस्यता वृद्धि, शिक्षक क्षमता विकास तथा शैक्षिक गुणस्तर सुधारका विषयमा विस्तृत छलफल गरिएको थियो।

छलफलपश्चात सर्वसम्मत रूपमा सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला कार्यसमिति चयन गरिएको हो। सुदूरपश्चिम प्रदेश कमिटीमा अध्यक्ष मोहनराज ओझा, उपाध्यक्ष निर्मल बहादुर सिंह, सचिव सुरेन्द्र बोहरा, कोषाध्यक्ष भोवी बहादुर कटुवाल तथा सह–सचिव भक्तराज ओझा चयन भएका छन्। त्यसैगरी कैलाली जिल्ला कमिटीमा अध्यक्ष शंकर बहादुर मल्ल, उपाध्यक्ष अच्युत दाहाल र सृष्टि हुमागाईँ मल्ल, सचिव सरिता शाह तथा कोषाध्यक्ष सुनिता पडाल चयन भएका छन्।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई खादा ओढाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। सहभागीहरूले संस्थागत विद्यालयहरूबीच आपसी सहकार्यलाई सुदृढ गर्दै गुणस्तरीय प्रारम्भिक शिक्षा, शिक्षकको व्यावसायिक विकास तथा बालमैत्री शिक्षाको प्रवर्द्धनमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अपेन सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्ला कमिटीको गठनसँगै प्रदेशमा गुणस्तरीय प्रारम्भिक शिक्षा र संस्थागत विद्यालयहरूको साझा अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।