फेरुचेमा हेलिकप्टर दुर्घटना अपडेट: मृत्यु हुनेमा भारतीय पर्यटक, घाइतेलाई काठमाडौं पठाइयो

मंगलबार कार्तिक १८, २०८३/ Tuesday 11-03-26
Paschim Today

दोलखा — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका थिए । 

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको उनले बताए ।

दुर्घटनामा सोही हेलिकप्टरमा सवार भारतीय मूलका न्यूजिल्यान्डका नागरिक शैलेश कृष्ण पटेल घाइते भएका छन् । घाइतेको प्रभु हेलिकप्टरमार्फत उद्धार गरी राजधानीको मेडिसिटी अस्पताल पुर्‍याइएको उनले बताए ।

दुर्घटनामा दुवै हेलिकप्टरका पाइलट सामान्य घाइते भएका छन् । उनीहरू दुवैलाई थप उपचारका लागि राजधानी लगिएको छ । दुर्घटनामा मृत्यु भएका भारतीय पर्यटकको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।