मलमा छुरा प्रहार हुँदा ६ जनाको मृत्यु 

शनिबार बैशाख १, २०८१/ Saturday 04-13-24
Paschim Today

सिडनी :अष्ट्रेलियाको सिड्नी शहरमा रहेको वेस्टफिल्ड र बन्डी जंक्शन मलमा छुरा प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ। आक्रमणकारीलाई पनि प्रहरीले गोली हानेको बताइएको छ। एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ। न्यू साउथ वेल्स पुलिसले वेस्टफिल्ड बन्डी जंक्शन मलमा अपराह्ण ४ बजे भन्दा पहिले आपत्‌कालीन सेवा बोलाएको जानकारी दिएको थियो। प्रहरीले यो क्षेत्रबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ‚ ‘घटना अझै अनुसन्धानकै क्रममा छ र थप जानकारी आउन सकेको छैन।’ अष्ट्रेलियाली मिडियाका अनुसार यो घटनापछि सयौं मानिसलाई मलबाट बाहिर निकालिएको छ।

एबीसीको रिपोर्ट अनुसार केही मानिस अझै पनि मलभित्र फसेका छन्। दुईजनाले रोयटर्सलाई मलमा बन्दुकको आवाज सुनिएको बताए। मानिसहरूलाई बाहिर निकालेको २० मिनेटपछि पनि प्रहरी कमाण्डो सडकमा घुमिरहेका थिए ।

प्रत्यक्षदर्शीले एउटी महिला भुइँमा सुतिरहेको र गहना पसलमा शरण लिएको बताइन्। प्रहरीले कारबाही भइरहेको बताए पनि थप विवरण दिन अस्वीकार गरेको छ। सामाजिक सञ्जालमा शेयर भइरहेका तस्वीरमा मानिसहरू मलबाट भाग्दै गरेका देखिन्छन्।

मलभित्र ठूलो संख्यामा प्रहरी तैनाथ रहेको बताइएको छ। कम्तीमा ६ जनाको मृत्यु भएको खबर छ। मृत्यु हुनेमा एक महिला र उनको बच्चा रहेको बताइएको छ।