Close This

उसको त गर्लफ्रेन्ड छ रे!

बुधबार जेठ २३, २०८१/ Wednesday 06-05-24
Paschim Today

-रन्जना बि.सी 

केही दिनअघि म र मेरो एक जना साथी केही कार्यक्रमको सिलसिलामा बाहिर थियौँ। सोही क्रममा लगभग चार दिन दुवैको कलेज ग्याप भयो। सधैँ बिहान उठ्नको झ्याउले कलेज देखेर दिक्क लाग्थ्यो। बढी जस्तो दिन हामी ढिला नै कलेज पुग्थ्यौँ। उठ नै नसकेर कति दिन त कलेज नै छुट्थ्यो। तर त्यो दिन भने हामी सरको गाली खाइने डरले अलि छिट्टै कलेज गयौँ। 

उनको र मेरो बसाइँ नजिक थिएन। त्यसैले हाम्रो बढी जस्तो भेट कलेजमा मात्रै हुन्थ्यो। त्यो दिन पनि हामी धेरै दिनपछि कलेजमा एक हर्कालाई भेट्न उत्साहित थियौँ। त्यसैले म पनि बिहान हतार हतार तयार भएर कलेज हिँडेँ। मभन्दा दश मिनेट अगाडि नै उनी कलेज पुगिसकेकी रहिछिन्। मलाई देख्ने बित्तिकै उनी खुसी भइन् र अँगालो मारिन्। कलेज सुरु हुन अझै टाइम बाँकी थियो। त्यसैले हामी पानी पिउने बहानामा कक्षा बाट बाहिर निस्कियौँ। 

सधैँ मसँग गफ गरिरहने, हाँसो मजाक गरी रहने उनी त्यो दिन अलि खामोस थिइन्। मानौँ उनको मनमा केही चलिरहेको छ। बेचैन थिइन्। उनको मुहारमा आश्चर्यका भाव प्रस्ट देखिन्थे। मनमा केही कुरा खेलाएर कति बेला खुसी त कति बेला सोच मग्न हुन्थिन् उनी। 

म उनलाई नजिकबाट नियालिरहेकी थिएँ। सायद त्योभन्दा पहिला मैले उनको त्यस्तो हाउभाउ कहिल्यै देखेकी थिइनँ। पहिला पटक साथीको अनुहारमा फरक भाव देखेर म पनि अचम्ममा परेँ। पहिलो पिरियड पढाइ भयो। तर उनको ध्यान भने पढाइमा फिटिक्कै थिएन। उनी आफ्नै धुनमा, सायद अर्कै दुनियाँमा पुगेको कल्पना गरी रहेकी थिइन्। यति बेलासम्म मैले उनलाई केही सोधेको थिइनँ, मात्र उनलाई हेरिरहेकी थिएँ। तर उनलाई भने मैले एकोहोरो हेरिरहेको समेत पत्तो थिएन। 

दोस्रो पिरियड सकेर सर बाहिर निस्कने बित्तिकै मैले उनलाई 'आर यु ओके' भनेर प्रश्न गरेँ। 

उनले लजाए जस्तो गरी मुस्कुराएर जवाफ दिइन् 'आई एम वेल।' 

तर उनी ठिक पक्कै थिइनन्। म फेरि पनि उनलाई प्रश्न गरिरहन्थेँ। प्रश्न जे होस उनको उत्तर भने अम् अम् बाहेक केही आउँदैन थियो।

यतिसम्म कि मैले हिजो कसरी दिन बित्यो भनेर सोध्दा पनि उनको उत्तर भने 'अम्' मात्रै आयो। मेरो प्रश्नप्रति उनलाई कुनै सरोकार थिएन। उनी कल्पनाको अलग्गै दुनियाँमा हराइसकेकी सकेकी थिइन्। केही समयपछि टिफिन भयो सबै साथीहरू नास्ता खान क्यान्टिन तिर लागे तर उसलाई भने कुनै मतलब थिएन। मैले जाऊँ भन्दा खान मन छैन भनिन्। 

 

'अब त अति भयो न बोल्या छ, न खाएको छ। आफ्नै दुनियाँमा हराएको छ के भएको तिमीलाई?' भनेर म झर्केर बोलेँ। त्यसपछि उनी बल्ल 'नरिसाऊ न, म एउटा कुरा भन्छु' भनेर बोलिन्। 

मैले हुन्छ के भएको हो नढाँटेर भन भनेँ। उनले मनमा खेलाइराखेको कुरा के होला भनेर म सुन्न उत्साहित थिएँ। 

उनी केही समय लजालु स्वभावमा फेरि मौन बसिन्। मैले बल गरे भन के भएको भनेर सोधेँ। 

उनले जवाफ दिइन्, 'मैले आज गेटमा एउटा केटालाई देखेँ।'

मलाई जोडले हाँसो उठ्यो। भनेँ, 'ए ए तिमीले आज एउटा केटालाई देखेर पो यस्तो हालत बनाएको? अनि अगाडि चाहिँ कहिल्यै केटा देख्या थिएनौ?' 

'त्यस्तो होइन यार, जे कुरा पनि मजाकमा उडाउँछौ,' उसले भनी। 

'अनि भन न त कस्तो हो? के नाम हो त्यसको? के पढ्छ? कुन फ्लोरमा बस्छ?'

'खोइ को हो त्यो त मलाई पनि थाहा छैन। बस्न चाहिँ सेकेन्ड फ्लोरमा बस्छ,' उनले भनिन्। 

मैले फेरि कस्तो छ त्यो केटो भनेर सोध्दा ऊ बयान गरेर थाकिन।

'कस्तो ह्यान्डसम छ। ओ माई गड मुस्कानको त कुरै नगरौँ। उसको मुस्कान देखेरै म फिदा भएँ।' 

एकै चोटि केटो देख्दैमा ऊ कहाँ बस्छ भन्ने समेत उनले पत्ता लगाइसकेकी थिई तर नाम भने थाहा थिएन। मलाई अचम्म लाग्यो, त्यो केटाप्रति उनको आकर्षण देखेर। 

अब त्यो केटा को रहेछ भनेर मलाई पनि हेर्न मन लाग्यो। हेर्न जाऊ भन्दा उसले थाहा पाउँछ भनेर जान मानिन। मैले जिद्दी गरेपछि सेकेन्ड फ्लोरमा गायौँ तर ऊ त्यति बेला क्लासमा थिएन। 

पछि छुट्टी हुने बेला हामी उसैलाई हेर्न भनेर सबैभन्दा बाहिर छिटो निस्कियौँ र गेटमा गएर उभियौँ। केही बेरपछि ऊ आफ्ना तीन जना साथीहरूसँगै आउँदै थियो। त्यत्तिकैमा मेरो साथीले 'उ त्यही केटा हो, हेर न कति क्युट छ' भनेर देखाइन्। अनि सोधिन्, 'कस्तो छ भन्?' 

मैले वाउ सो क्युट, तिम्रो च्वाइस पनि नराम्रो होला त भनेर जवाफ दिएँ 

बिल्ला नगर न भन्दै उनी मुस्कुराइन् मात्र।

फाइनल्ली मेरो साथीको पनि लभ परेछ भनेर मैले जिस्काउँदै सोधेँ, 'के केटाले मान्यो भने तिमीहरूको लभ पर्छ?' 

ऊ पहिला थोरै लजाएर मुस्कुराई अनि मन खल्लो पारेर न्यास्रो स्वरमा जवाफ दिई, 'उसको त गर्लफ्रेन्ड छ रे!'

मैले फेरि सोधेँ, 'नामै थाहा नभएको मान्छेको गर्लफ्रेन्ड छ भनेर तिमीलाई कसरी थाहा भयो?'

'यति ह्यान्डसम छ अनि गर्लफ्रेन्ड नहोला भनेर कसरी पत्याउनु,' उसले भनी। 

मैले मजाक गर्दै भनेँ, 'गर्लफ्रेन्ड छ कि नाइँ भनेर म सोध्दिम्?' 

ऊ साँच्चै पत्याएर 'नसोधन प्लिज मेरो बारेमा के सोच्ला' भन्न थालिन्। 

कलेजबाट फर्किएपछि मलाई दिउँसोभरि त्यो कुरा सम्झेर हाँसो उठ्न थाल्यो। कति बेला अचम्म मान्थेँ। केटाको नाम लिँदा पनि गाली गर्ने मेरी साथीले आखिर एउटा केटालाई मन पराइछे। 

आजभोलि पनि उनले मौका मिले त्यो केटालाई हेरिरहन्छिन्। अनि म जिस्काउँदै भन्छु, 'त्यो केटाको कन्फर्म गर्लफ्रेन्ड छैन। त्यसको लभ तिमी सँगै पर्छ।'

उनी सायद भनेर जवाफ दिन्छिन्। 

नामै थाहा नभएको केटाप्रति मेरो साथीको त्यो आकर्षण देखेर मलाई भने अचम्म लाग्छ। भन्न सक्दिनन् तर हेरिरहन्छिन्।

यो सबै कुराको साक्षी म भएकाले साथी एकोहरो प्रेममा परिसकेको मेरो ठम्याई छ। तर उनी भने यो कुरालाई फिटिक्कै मान्दिनन्। 

जे होस साथीको लभ परोस्, नपरोस् तर म भने जिस्काइरहेकै छु।