नेपालीहरूका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्नसक्छ : महानायक हमाल

शनिबार असोज ५, २०८१/ Saturday 09-21-24
Paschim Today

महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरूका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्नसक्ने बताएका छन् ।

शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवं गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानडा उत्कृष्ट गन्तव्य रहेकाले नेपाली युवाहरूले स्वविवेकले छनोट गर्न सुझाए ।

उनले नेपाली युवाहरूका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तव्य रहेपनि वैदेशिक शिक्षा रोज्नेहरूका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए । उनले पछिल्लो क्यानडा पनि भरपर्दो गन्तव्य भएको बताए ।

‘विद्यार्थीहरूलाई आफ्नो शैक्षिक भविष्य छनोट गर्ने अधिकार छ । आफ्नो शैक्षिक भविष्य निर्धारणका लागि खुला भएर सोच्न सक्छन् । आफूमा भएको उर्जा, प्रतिभा र क्षमतालाई प्रदर्शन गर्नका लागि स्वतन्त्र अधिकार प्रयोग गर्न सक्छन् । यद्यपि, पछिल्लो समय क्यानडा धेरै नेपालीहरूको उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै गएको दुईमत छैन,’ उनले भने ।

कार्यक्रममा गोरेटो कन्सल्टेन्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले क्यानडा अध्ययनका लागि धेरै नेपाली युवाहरूको रोजाइमा रहेको बताए । उनले क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि लिएको नीतिका कारण अन्योलता रहेको सन्देश बाहिर आए पनि सार्वजनिक भएजस्तो समस्या नभएको बताए ।

कार्यक्रममा २५ बढी लोकप्रिय कलेज र विश्वविद्यालयहरूले परामर्श सेवा उपलब्ध गराएका थिए । उक्त अवसरमा कलेज वा विश्वविद्यालयका प्रतिनिधिहरूले सयौं विद्यार्थीहरूलाई परामर्श दिएका थिए ।