ट्रम्पले अस्वीकार गरे दोस्रो बहस

आइतबार असोज ६, २०८१/ Sunday 09-22-24
Paschim Today

वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको निर्वाचनमा रिपब्लिकन दलका उमेदवार डोनाल्ड ट्रम्पले दोस्रो राष्ट्रपति बहसमा सहभागी हुन अस्वीकार गरेका छन् । अति ढिला भएको भन्दै उनले टिभीमा प्रत्यक्ष प्रसारण गरिने सो बहसमा सहभागी हुन नमानेका हुन् ।

डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवारसमेत रहेकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले भने अक्टोबर २३ मा सीएनएनको बहसको निम्तो स्वीकार गरेकी थिइन् । तर पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सोको निम्तो सिधैं अस्वीकार गरिदिए ।

फिलाडेल्फियामा यो महिनाको सुुरुमा भएको प्रत्यक्ष बहसमा ट्रम्पमाथि ह्यारिस भारी देखिएकी थिइन् । सो बहसपछि भएका जनमत संग्रहहरूमा  पनि अधिकांश दर्शकहरुले ह्यारिसले ट्रम्पलाई दबाबमा राखेको कुरामा विश्वास गरेको देखाएका थिए ।

तर ट्रम्पले भने बहसमा आफूले जितेको दाबी गरेका थिए । सेप्टेम्बर १० को बहस पछि नै ट्रम्पले अर्को बहस हुँदैन भनेका थिए । उत्तर क्यारोलिनाको विल्मिङ्टनमा एउटा र्यालीमा सम्बोधन गर्ने क्रममा बहसमा आफूले जितेको दाबी गर्दै अर्को बहस गर्न अति ढिला भएको उनको भनाई थियो ।