पाकिस्तानमा विषाक्त धुवाँ : एकैदिन १५ हजारभन्दा बढीमा श्वासप्रश्वासजन्य संक्रमण
पाकिस्तानमा लाहोरलगायत अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वासजन्य सङ्क्रमण देखिएको छ ।
लाहोरका अस्पताल सुक्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ ।
मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल ३ हजार ६ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा २ हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य सङ्क्रमणबाट ग्रसित भएको भेटिएका छन् ।
पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदूषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामीहरू अत्यधिकरूपमा अस्पतालमा उपचारका लागि पुगेका छन् । उनीहरुले प्रदूषण र धुवाँले निमोनिया, छातीको सङ्क्रमण र छालाका रोगहरूसहित विभिन्न भाइरल रोगहरूमा वृद्धि गरेको जनाएका छन् ।
पाकिस्तानका विभिन्न भागमा धुलो तथा धुवाँको प्रदूषण बढेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी यातायातका साधनलाई अतिआवश्यक कामका लागि बाहेक पालो मिलाएर सेवा दिन निर्देशन गरेको छ भने विद्यालय र कलेजहरू बन्द गरिएका छन् ।
पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धुवाँलाई नासाको ‘मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोरेडियो मिटर’ ले पनि रिपोर्ट गरेको छ । सन् २०२४ को ‘नोभेम्बरको सुरुमा उत्तरी पाकिस्तानी आकाश धुवाँले ढाकिँदा हावाको गुणस्तर घटेकाले विद्यालय बन्द भएको र सयौं मानिस अस्पतालमा पठाइएको नासा मोडिसले जनाएको छ ।
नासाले देशमा एक्यूआईको घट्दो स्तरलाई पनि ध्यानमा राख्दै पाकिस्तानको पञ्जाब क्षेत्रका केही भागमा वायु गुणस्तर सूचकाङ्क नोभेम्बर १० मा एक हजार ९ सयभन्दा माथि पुगेको जनाएको छ ।
पाकिस्तानी मिडिया स्रोतका अनुसार पाकिस्तानको पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले प्रदूषण ‘प्रकोप’ घोषणा गरी आपतकालीन उपायहरू सुरु गरेको घोषणा गरेको थियो ।
प्रदूषणबारे जानकारी दिँदै मोडिसले धुवाँको सतह बाक्लो भएकाले पाकिस्तानको परिदृश्यलाई पूर्णरूपमा अस्पष्ट पारेको बताएको छ । पछिल्लो समयमा विश्वको सबैभन्दा बढी प्रदूषित शहरको सूचीमा पाकिस्तानको लाहोर सहर परेको छ ।
तपाईको प्रतिक्रिया