एमालेले पत्र बुझ्न नमानेपछि महानगरले हुलाकबाट पठायो जरिवानाको चिट्ठी

सोमबार मङ्सिर १०, २०८१/ Monday 11-25-24
Paschim Today

काठमाडौँ । नेकपा एमालेले जरिवानाको चिट्ठी बुझ्न नमानेपछि काठमाडौँ महानगरपालिकाले इमेल र हुलाकमार्फत पत्र पठाएको छ । आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो ।

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेका अनुसार सोमबार बिहान हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाइएको हो ।

नेकपा एमालेले शुक्रबार काठमाडौँको दरबारमार्गमा जागरण सभाको कार्यक्रम गर्ने क्रममा सडक र पेटीमा फोहर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो । त्यसपछि आइतबार काठमाडौँ महानगरको टोली दलबलसहित १ लाख जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेको थियो ।

 

तर एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिट्ठी बुझ्न अस्वीकार गरेका थिए । एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिट्ठी बुझाउन उनले महानगरको टोलीलाई आग्रह गरेका थिए ।