९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

बिहीबार माघ २४, २०८१/ Thursday 02-06-25
Paschim Today

नौं महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार भएको छ।

तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसिसी डिटेन्सन केन्द्रमा थिए।

उनीहरू दुवैको उद्धार भइसकेको र शुक्रबार नेपाल ल्याइने गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीले जानकारी दिएका छन्।

‘दलालको प्रलोभनमा परेर युक्रेन पुगी विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार गरिएको खबर सुनाउन पाउँदा खुशी लागेको छ,’ एनआरएनको आधिकारिक फेसबुक पेजमा केसीले भनेका छन्, ‘नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा हुनुहुन्थ्यो।’

उनीहरू दुवै जनालाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको केसीले उल्लेख गरेका छन्। गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरूलाई टर्किस्ट एयरलाइन्सको उडानमार्फत् माल्दोवाबाट शुक्रवार दिउँसो काठमाडौं ल्याइने समेत उनले जानकारी दिएका छन्।

उनीहरूको उद्धारको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायत, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत भनेका छन्।