दशौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम छनौट आजदेखि सुरू

आइतबार माघ २७, २०८१/ Sunday 02-09-25
Paschim Today

दशौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका खेलाडी छनौट सुरू भएको छ। आज दिउँसो तीन बजे परराष्ट्रमन्त्री आरजु राणाले छनौट प्रतियोगिताको उद्घाटन गर्ने छिन्।

छनौट खेल सञ्चालनका लागि धनगढीको रंगशाला र महेन्द्रनगरको रंगशाला सजिएका छन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट ७ सय ७८ जना खेलाडी सहभागी जनाउँदै छन्। यस्तै ४५० जना निर्णायकहरू पनि सहभागी जनाउने छन्। सुदूरपश्चिमको छनौटमा भने प्रदेशका २ हजार ८ सय खेलाडी सहभागी हुँदैछन्। छनौट खेल खेल्न खेलाडीहरू उत्साहित हुँदै धनगढी पुगिसकेका छन्।

सुदूरपश्चिम प्रदेशले दशौं राष्ट्रिय खेलकुदमा ६१ विधाका खेल हुनेछन्। त्यसैका लागि प्रदेश छनौट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल हुने सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए। आजदेखि छनौट खेल फागुन २ गते सम्म सञ्चालन हुनेछ।

कैलालीको धनगढीमा फुटबल, भलिबल, एथेलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, खो–खो, उस्सु लगायतका खेल हुनेछन्। यस्तै कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, तेक्वान्दो, कराते, कुस्तिका खेल हुनेछन्।

छनौट प्रतियोगितामा अछामबाट १ सय ४१, बझाङबाट २ सय ६३, बैतडीबाट २ सय २, डोटीबाट २ सय ९४, बाजुरा २ सय ३९, दार्चुलाबाट २ सय ३६ डडेल्धुराबाट २ सय ४३ कैलाली ४ सय ३१ र कञ्चनपुर ४२३ जना खेलाडी २ हजार ४ सय ६३ प्रतियोगितामा भाग लिनेछन्। ३१ मध्ये १६ वटा खेलको प्रतियोगिता हुनेछ।

छनौट हुने खेलमा बास्केटबल महिला, कुस्ती, आइटिएफ तेक्वान्दो, सुटिङ, जुडो, रग्बी, भारत्तोलन, हेन्ड बल महिला रहेका छन्। हक्की, आर्चरी, साइकिलिङ, सफटेनिस, पौडी, शारीरिक सुगठन, फेन्सिङ, लङ टेनिस, जिम्नाङस्टिक लगायत गरी १० वटा खेलका खेलाडीले सहजै दशौँ राष्ट्रिय खेलकुदमा सहभागी जनाउने छन्। प्रदेश छनौट प्रतियोगितामा प्रथम मेडल संख्या ३ सय ३२, द्धितीय मेडल संख्या ३ सय २०, तृतीय मेडल संख्या ४ सय ५६ गरी १ हजार १ सय ९८ जम्मा मेडल संख्या छ। प्रदेश छनोटका लागि ५ करोड २० लाख बढी खर्च हुने अनुमान छ।