धनगढीमा शिक्षाविद् पन्तलाई नागरिक अभिनन्दन

बुधबार माघ ३०, २०८१/ Wednesday 02-12-25
Paschim Today

धनगढी । शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै शिक्षाविद् डा। हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ ।  धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको हो ।

 नगरप्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्रसहित पन्तलाई अभिनन्दन गरेका थिए । धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई नागरिक अभिनन्दन गरिएको हो । 

पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली वाणिज्य क्याम्पसमा पढाउन थालेका थिए । पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाएका थिए ।

१४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखियो । भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए । प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदमा रहेर काम गरे ।

डोटीको शिखर नगरपालिका–९ उच्चाकोट ९सिद्धेश्वर गाउँ पञ्चायत० मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन् । 

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले शिक्षा विद् पन्तले २०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताए ।

नगरप्रमुख हमालले भने, ‘कैलाली बहुमुखी क्याम्पस थिएन । कैलाली व्यवस्थापन क्याम्पस थियो । पछि मात्र कैलाली बहुमुखी क्याम्पस नाम राखिएको हो । सुरुमा भौतिक संरचनाहरू पनि थिएन । विस्तारै संरचनाहरू तयार भए । अहिलेको अवस्थामा ल्याउन उहाँको भूमिका महत्त्वपूर्ण छ । त्यसैले उहाँलाई हामी नागरिक अभिनन्दन गरेका हौ ।’