अछामको साँफे हाटबजारमा भीषण आगलागी, १० पसल पूर्णरुपमा जले

शनिबार बैशाख १३, २०८२/ Saturday 04-26-25
Paschim Today

अछामको  साँफे हाटबजारमा  भीषण आगलागी भएको छ ।  शनिवार बिहान करिब ३ः३० बजे साँफेबगर नगरपालिका–३ स्थित हाटबजारबाट विद्युत् सर्ट भएर सुरु भएको आयो करिब ६ः०५ बजे नियन्त्रणमा आएको थियो ।

जिल्लामा दमकल नभएपछि आगो लागेको क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर आगो अरू घरमा सल्किन नदिएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार  भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।  विद्युत् सर्ट भएर सल्किएको आगो होटेलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको छ ।

  स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिइएको थियो ।  आगलागीबाट मानवीय क्षति नभएपनि ठुलो आर्थिक नोक्सानी भएको छ । क्षतिको विस्तृत विवरण सङ्कलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

यसअघि २६ गते जयगढ बजारमा पनि यस्तै आगलागी भएको थियो। उक्त घटनामा ३५ वटा पसलहरू पूर्ण रूपले ध्वस्त हुँदा ८ करोड बढीको क्षति भएको थियो ।

करोडौँको क्षति र दर्जन बढी नागरिकको उठिबास हुने गरी जयगढ आगलागी भएको महिना दिन नबित्दै जिल्ला भित्रै अर्को ठुलो आगलागी भएको हो ।