बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या

मंगलबार जेठ ७, २०८२/ Tuesday 05-20-25
Paschim Today

बैतडीः दोगडाकेदार गाउँपालिकाको वडा नम्बर २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ।

गाउँपालिकाले ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरेपनि ती गाउँमा  खानेपानी समस्या जारी रहेको छ। तीगाउँका  तीन सय घरपरिवारले बाह्रै महिना खानेपानीको समस्या भोग्दै आएको स्थानीयवासी करनसिंह भाटले जानकारी दिए। तत्कालीन समयमा एसियाली विकास बैंक (एडिबी)का सहयोगमा बनेको खानेपानी योजना जीर्ण बनेपछि यहाँ बाह्रै महिना खानेपानीको समस्या हुने गरेको उनले बताए। उनले भने, 'खानेपानीका लागि निकै समस्या छ। एडिबीले बनाइदिएको खानेपानी योजना जीर्ण भयो, परम्परागत पानीका कुवा सुकेका छन्। यहाँ बाह्रै महिना खानेपानीको हाहाकार हुने गरेको छ।'

एडिबीको सहयोगमा २०५२ सालमा यहाँ खानेपानी योजना निर्माण भए पनि हाल भने जीर्ण भएको उनले बताए। दोगडाकेदार गाउँपालिकाले अन्य बस्तीमा ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरे पनि यहाँको समस्या समाधानका लागि भने कुनै चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ। गाउँमा भएका पानीका मुहान सुकेपछि बडियावासी एक गाग्री पानीका लागि दिनभरि भौँतारिने गरेका छन्।

खानेपानीको बाह्रै महिना समस्या हुने गरेको अर्का स्थानीयवासी लोकेन्द्र विष्टले बताए। उनले भने, 'बडिया र कणेलीगाउँवासीका दुःख भनेको खानेपानी हो। यो समस्या समाधानका लागि कुनै ठाउँबाट पहल हुनसकेको छैन।” खानेपानीका लागि घण्टौँ लगाएर ल्याउनुपरेको स्थानीयवासी रघुवीर भाटले बताए। उनले भने, 'खानेपानीका लागि घण्टौँ लाइन बसेर भर्नुपर्छ। पानी भर्नमै रातदिन बित्ने गर्छ।'