नागार्जुनका मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना

सोमबार असार १६, २०८२/ Monday 06-30-25
Paschim Today

काठमाडौँ — सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई करिब ११ वर्ष कैद सजाय भएको छ । यस्तै ३१ करोड १८ लाख ६२ हजार १ सय ७८ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र अर्का न्यायाधीश रामबहादुर थापाको इजालासले गत असार ६ मा बस्नेतलाई दोषी ठहर गरेकामा सोमबार सजाय निर्धारण गरेको हो । दोषी ठहर बस्नेत २०७४ र २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट मेयर निर्वाचित भएका थिए ।

सजाय निर्धारण गर्दै विशेषले व्यापारीबाट घुस लिएको कसुरमा उनलाई २ करोड ३० लाख ६१ हजार ५ सय ८ रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय सुनाएको हो । मेयरको पद दुरुपयोग गरेकामा थप ३ महिना कैद सजाय गरिएको छ । यस्तै सम्पत्ति शुद्धीकरणतर्फ उनलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम भएकामा बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ जरिवाना सुनाइएको हो ।

सम्पत्ति शुद्धीकरणतर्फ अदालतले थप ३ वर्ष कैद सजाय तोकेको हो । यस्तै अदालतले २ करोड ६२ लाख ५४ हजार ६सय ६ रुपैयाँ ४६ पैसा पनि थप जरिवानाबापत सजाय निर्धारण गरेको हो ।

यस्तै बस्नेतबाट अपराधपीडित राहत कोषमा १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश दिएको छ ।

 

बस्तेलाई घुस दिएको कसुरमा पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्टका अध्यक्ष राजुप्रसाद कँडेल तथा उनको संस्थाबाट जनही ९ लाख २२ हजार ४ सय ६० रुपैयाँ अपराधपीडित राहत कोषमा जम्मा गर्न आदेश गरिएको छ ।

 

पद्मा कोलोनीका सञ्चालक कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३३ रुपैयाँ घुस लिएको र उक्त घुस प्रतिवादी बस्नेतले शुद्धीकरण गरेको भन्दै विशेषले गत असार ६ मा दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र व्यापारी कँडेलसहितलाई प्रतिवादी बनाएर १४ पुस २०८१ मा विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो । सोही मुद्दाको किनारा लगाउँदै विशेषले दुबैजनालाई दोषी ठहर गरेको हो । विशेषले सजाय निर्धारणका लागि भने असार १६ गतेलाई पेसी तोकेको छ । घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घूसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेत, पत्नी उर्मिलासहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । विशेषले उर्मिला बस्नेतलाई भने सफाई दिएको छ ।

सार्वजनिक पदको दुरुपयोग गरी बस्नेतले कँडेलबाट लिएको घूसलाई शुद्धीकरण गरी बस्नेतले अन्यत्रै लगानी गरेको विशेषमा अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख गरेको थियो । बस्नेत २०७४ र २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए । कँडेल भने पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक हुन् । मेयर बस्नेतविरुद्ध घूस प्रकरणमा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बिगो कायम गरी दायर भएको सोही मितिको मुद्दामा पनि उनी दोषी ठहर भएका हुन् ।

व्यापारी कँडेलबाट लिएको घूस शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको थियो ।

बस्नेतले नगर प्रमुखको पद दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रालि/पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा जगतगुरु कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष कँडेलबाट घूस/रिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको/दिन लगाएको, प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाबाट विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिए/दिन लगाएको’लगायत अभियोग लगाइएको थियो ।

यसैगरी ‘प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी जग्गा प्रतिवादी राजुप्रसाद कँडेल तथा निजका कम्पनीहरूलाई उपलब्ध गराउने गरी सम्झौता गरे/गराएकामा सोही सम्झौतासमेत कार्यान्वयन गर्न, गराउन भुलभुलैयामा पारी जग्गाधनीसाग सम्झौता गरी/गराई मन्दिर निर्माणका लागि भनी लिएर जग्गा प्लटिङमा बिक्री गर्ने काममा संलग्न रहेको’ अनुसन्धानबाट खुलेको थियो ।

४७ करोड ७५ लाख रुपैयाँ बजार मूल्य पर्ने जग्गाका लागि पद्म कोलोनीले १८ करोड ९४ लाख १८ हजार ४ सय ४८ रुपैयाँ मात्रै भुक्तानी दिएको र बाँकी रकम मिलेमतोमा मेयर बस्नेत र व्यापारी कँडेलले व्यवस्थापन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

मेयर बस्नेतले घूसबापत लिएको रकम आफू र पत्नीका खातामा ल्याएर शुद्धीकरण गरेको, जगतगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको मन्दिरका लागि भनी खरिद गर्न लागेको जग्गासमेत स्थानीयलाई बिक्री गर्न जग्गा बैनाबट्टा गरी रकम लिएको पनि पाइएको थियो । त्यसबापत बस्नेतले आफ्नो बैंक खातामा विभिन्न व्यक्तिबाट ३ करोड ७२ हजार रुपैयाँ लिएका थिए ।