बाढी प्रभावितलाई समयमै सुरक्षित स्थानमा सार्न मदन भण्डारी फाउन्डेशनको माग

सोमबार असार १६, २०८२/ Monday 06-30-25
Paschim Today

धनगढी–  भारी वर्षाका कारण कैलाली जिल्लाका विभिन्न क्षेत्र बाढीको उच्च जोखिममा परेका छन्। यस्तो अवस्थामा सम्भावित प्रभावित जनतालाई समयमै सुरक्षित स्थानमा सार्न मदन भण्डारी फाउन्डेशनले जिल्ला प्रशासन कार्यालय, कैलालीलाई तत्काल तयारी गर्न माग गरेको छ।

फाउन्डेशनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी, जोशीपुर र कैलारी गाउँपालिकाका बस्तीहरू डुबानको सम्भावित जोखिममा रहेको औँल्याएको छ।

मौसम पूर्वानुमानअनुसार असार १५ देखि लगातार तीन दिनसम्म भारी वर्षा हुने भएकाले मेल खाल, खोल्साखोल्सी भरिएर बस्तीहरूमा पानी पर्न सक्ने भन्दै फाउन्डेशनले जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्न प्रशासनको ध्यानाकर्षण गराएको हो।

ज्ञापनपत्रमा भनिएको छ, “प्रभावित क्षेत्रका जनतालाई सुरक्षित स्थानमा सार्ने, उद्धार टोली तयारी अवस्थामा राख्ने र राहत सामग्रीको व्यवस्था सुनिश्चित गर्न प्रशासन गम्भीर हुनुपर्छ।”

फाउन्डेशनका जिल्ला अध्यक्ष रामचन्द्र जोशीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सबै सरोकारवाला निकायसँग समन्वय गरी उद्धार, राहत तथा पूर्वतयारीका कामहरू तत्काल अघि बढाउन आग्रह गरिएको छ।

फाउन्डेशनले बाढीबाट जनधनको क्षति रोक्न प्रदेश तथा स्थानीय प्रशासनलाई सक्रिय भूमिका निर्वाह गर्न अपिलसमेत गरेको छ।