कुकुरको टोकाइबाट बालकको मृत्यु

(बैतडी) । बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–६ कुयलीगाउँका १२ वर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट आइतबार मृत्यु भएको हो ।
स्थानीय शिक्षक मनोज साउँदका अनुसार करिब दुई हप्ता अघि कुकुरले टोकेर घाइते भएका अनिलको आइतबार बाटोमै मृत्यु भएको हो । कुकुरको टोकाइबाट टाउकोमा चोट लागेका अनिललाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारपछि तीन दिनअघि मात्र उनलाई घर ल्याइएको थियो ।
तर, घर आएपछि स्वास्थ्यमा थप समस्या देखिएपछि पुनः अस्पताल लैजाँदै गर्दा आइतबार साँझ ६ बजेतिर डडेलधुरा नजिकै मृत्यु भएको परिवारले जनाएको छ । अनिलमा कुकुरको टोकाइपछि रेबिजका लक्षण देखिएको र उनी पानी देख्नासाथ डराउने लक्षण देखिएको बताइएको छ ।
जनता आधारभूत विद्यालय रौनालीचौडमा कक्षा ६ मा अध्ययनरत अनिलको निधनपछि गाउँमा शोक छाएको स्थानीय शिक्षक साउँदले जानकारी दिए ।
तपाईको प्रतिक्रिया