दार्चुलाको लेकमका नाथले ९७ वर्षको उमेरमा पाए नागरिकता

बिहीबार श्रावण २३, २०८२/ Thursday 08-07-25
Paschim Today

दार्चुला । नेपालको संविधानमा १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने प्रावधान छ तर यहाँका एक जना ज्येष्ठ नागरिकले ९७ वर्ष र एक जनाले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । दार्चुलाको लेकम गाउँपालिका-६ का ९७ वर्षीय जयानन्द नाथ र लेकम-१ की ९६ वर्षीय परुलीदेवी बोहोरालाई लागेको थियो कि यो जुनीमा नागरिकता पाउँदिनँ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले उहाँहरूको घरमै गएर नागरिकता प्रदान गरको छ । 

उनीहरूले नागरिकता पाएपछि निकै खुसी हुन्छन्। ९७ वर्षीय नाथले घरमै नागरिकता प्रमाणपत्र बुझ्न पाउँदा आफूलाई देशले सम्झिएको अनुभव भएको बताए । लेकम गाउँपालिका–१ का ९६ वर्षीय परुलीदेवी बोहोराले पनि यो उमेरमा नागरिकता पाउँदा खुसी लागेको बताइन्। पहाडी भेगका दुर्गम बस्तीका जनतालाई कार्यालय पुग्न गाह्रो हुने भएकाले नागरिकता लिन वञ्चित भएकालाई घरमै नागरिकता दिनका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ ।